Dhulikhel Eco Banner new

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको २१औँ साधारण सभा सम्पन्न, अध्यक्षमा दिनेश थकाली चयन

1.9K
shares

काठमाडौं,१३ कार्तिक। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (DBAN) को २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०८३ साल कात्तिक १३ गते शुक्रबार सम्पन्न साधारण सभाले आगामी दुई वर्षका लागि एसोसिएसनको अध्यक्षमा दिनेश थकालीलाई सर्वसम्मत रूपमा चयन गरेको छ।

एसोसिएसनका कार्यवाहक अध्यक्ष थकालीको अध्यक्षतामा सम्पन्न सभामा एसोसिएसनमा आबद्ध सदस्य विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो। कार्यवाहक अध्यक्ष थकालीले पानसमा दीप प्रज्वलन गरी सभाको औपचारिक शुभारम्भ गरेका थिए।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।

अनुभवी चार्टर्ड एकाउन्टेन्ट तथा बैंकर थकाली कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन्। उनले बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन तथा सुशासनलाई प्राथमिकता दिँदै दिगो बैंकिङ विकासमा योगदान पुर्‍याउँदै आएका छन्।

नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन

साधारण सभाले थकालीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति पनि निर्विरोध चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली अध्यक्ष, गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय उपाध्यक्ष, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल सचिव र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल कोषाध्यक्ष चयन भएका छन्।

त्यस्तै, सदस्यमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारामान मानन्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापागाईं चयन भएका छन्।

नयाँ कार्यसमितिले निवर्तमान कार्यसमितिका पदाधिकारीहरूलाई आफ्नो कार्यकालमा एसोसिएसनको संस्थागत विकास, बैंकिङ क्षेत्रका साझा मुद्दाको सम्बोधन तथा नीतिगत पैरवीलगायतका क्षेत्रमा पुर्‍याएको योगदानका लागि धन्यवाद व्यक्त गरेको छ।

नवनियुक्त अध्यक्ष थकालीले एसोसिएसनले अघि बढाउँदै आएका विभिन्न पहल तथा कार्यक्रमलाई निरन्तरता दिँदै बैंकिङ क्षेत्रका समसामयिक मुद्दामा गतिविधिहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले सुशासन, जोखिम व्यवस्थापन, प्रविधि तथा मानव संसाधनको क्षमता अभिवृद्धि, डिजिटल रूपान्तरण, कर्जाको गुणस्तर र असुली सुधार तथा सदस्य बैंकहरूबीच ज्ञान र उत्कृष्ट अभ्यासको आदानप्रदानमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, सम्पूर्ण सदस्य बैंक, नियामक निकाय तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्दै विकास बैंकहरूको हित प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहने बताएका छन्।

१७ विकास बैंकका १ हजार ११२ शाखाबाट ८० लाख ग्राहकलाई सेवा

हाल सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये आठ राष्ट्रिय स्तरका र नौ क्षेत्रीय स्तरका छन्। विकास बैंकहरूले २०८३ साल असार मसान्तसम्म १ हजार ११२ शाखा र ३३६ एटीएममार्फत करिब ८० लाख ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएका छन्।

विकास बैंकहरूको छाता संगठनका रूपमा रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले विकास बैंकहरूको साझा हित तथा बैंकिङ क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै नेपाल राष्ट्र बैंकलगायत विभिन्न नियामक निकाय र सम्बन्धित संस्थाहरूसँग निरन्तर समन्वय तथा सहकार्य गर्दै आएको छ।

त्यसैगरी, एसोसिएसनले सदस्य बैंकहरूबीच सहकार्य, समन्वय तथा ज्ञान आदानप्रदान प्रवर्द्धन, साझा एजेन्डाको पहिचान र समस्याको सामूहिक समाधानका लागि पहल गर्दै आएको छ। समयसापेक्ष तथा सान्दर्भिक विषयमा सदस्य बैंकहरूका लागि कार्यशाला पनि आयोजना गर्दै आएको छ।

प्रविधिमा आधारित समाधानमार्फत सदस्य बैंकहरूलाई सहजीकरण गर्ने उद्देश्यले एसोसिएसनले म्याजेस्टिक पेन्स स्क्रिनिङ, नेगेटिभ लिस्ट स्क्रिनिङ, एचआर एमआईएस, फाइनान्स एमआईएसलगायतका प्रणाली विकास तथा सञ्चालन गर्दै आएको छ।

एसोसिएसनले आफ्ना सम्पूर्ण पहल तथा गतिविधिलाई सफल बनाउन निरन्तर सहयोग, सहभागिता र विश्वास प्रदान गर्दै आएका सम्पूर्ण सदस्य बैंकप्रति आभार व्यक्त गरेको छ।