Dhulikhel Eco Banner new

नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम साढे ८ अर्बमाथि

520
shares

काठमाडौं,१३ कार्तिक।  साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा सामान्य करेक्सन देखिएको छ। दशैँ बिदाअघिदेखि निरन्तर उकालो लागेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्न थालेपछि नेप्से परिसूचक सामान्य अंकले घटेको हो। यद्यपि, बजारमा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

शुक्रबार नेप्से परिसूचक ५.४५ अंकले घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले घटेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले ओरालो लागेका छन्।

परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने सुधार देखिएको छ। बिहीबार ८ अर्ब ५७ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा शुक्रबार ८ अर्ब ८९ करोड १५ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ। यस दिन ३४८ वटा स्टकको ७४ हजार ५३ पटकको कारोबारमा २ करोड २८ लाख ६२ हजार कित्ता शेयर किनबेच भएका छन्।

बेनी हाइड्रोपावरमा सकारात्मक सर्किट

शुक्रबारको कारोबारमा बेनी हाइड्रोपावरका लगानीकर्ता सबैभन्दा बढी लाभान्वित भएका छन्। कम्पनीको शेयरमूल्य ९२ रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता ७०९ रुपैयाँ ७० पैसा पुगेको छ। कम्पनीको शेयरमूल्यमा यस दिन पनि सकारात्मक सर्किट लागेको हो।

त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १२ प्रतिशतभन्दा बढी बढेको छ भने लुम्बिनी विकास बैंकको शेयरमूल्यमा ७ प्रतिशतको वृद्धि भएको छ। यता, मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ४.०८ प्रतिशतले घटेको छ।

कारोबारमा लुम्बिनी विकास बैंक अगाडि

कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको शुक्रबार ३८ करोड ४८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ३० करोड रुपैयाँभन्दा बढी र घलेम्दी हाइड्रोको करिब २८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

पाँच उपसमूहको परिसूचक बढ्यो

नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये शुक्रबार पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।

यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशतले बढेको छ। त्यस्तै, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ। बाँकी आठ उपसमूह भने घटेर बन्द भएका छन्।