Dhulikhel Eco Banner new

काठमाडौंका यी क्षेत्रमा आठ दिन विद्युत् अवरुद्ध हुने, दैनिक साढे ५ घण्टा बत्ती जाने

702
shares

काठमाडौं,१३ कार्तिक। नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। विद्युत् प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गर्ने र स्तरोन्नति गर्ने कार्यका लागि प्राधिकरणले विभिन्न क्षेत्रमा दैनिक साढे ५ घण्टा विद्युत् कटौती गर्न लागेको हो।

प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भूमिगत केबल बिछ्याउने काम गरिनेछ। उक्त कार्यका लागि कात्तिक १३ गतेदेखि २० गतेसम्म दैनिक बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ।

प्राधिकरणले सार्वजनिक गरेको कार्यतालिकाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी आसपासका क्षेत्रमा विद्युत् कटौती हुनेछ।

त्यस्तै, कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी चक्रपथदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। कात्तिक १५ गते कलंकी, थानकोट र रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डा क्षेत्रसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।

यसैगरी, कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी चक्रपथदेखि स्युचाटार सबस्टेसन क्षेत्र प्रभावित हुनेछ। कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणको कार्यतालिकाअनुसार कात्तिक १८ र २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् कटौती हुनेछ। त्यस्तै, कात्तिक १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ।

प्राधिकरणले मौसम प्रतिकूल भएमा पूर्वनिर्धारित कार्यतालिका परिवर्तन वा रद्द हुन सक्ने जनाएको छ। भूमिगत विद्युत् प्रणाली विस्तार तथा स्तरोन्नतिको कामका क्रममा उपभोक्तालाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै प्राधिकरणले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ।

भूमिगत विद्युत् प्रणाली विस्तारले आगामी दिनमा विद्युत् वितरणलाई थप व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने अपेक्षा प्राधिकरणले गरेको छ।