Dhulikhel Eco Banner new

नेप्सेमा ‘प्राविधिक करेक्सन’ को विश्राम : अब कुन दिशा तय गर्ला बजारले ?

858
shares

धितोपत्र बजारमा साताको पहिलो दिन देखिएको गिरावटलाई लगानीकर्ता र विश्लेषकहरूले आगामी दिशा तय गर्ने महत्त्वपूर्ण ‘विन्दु’ का रूपमा लिएका छन्। सोमबार नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० बिन्दुमा ओर्लिएसँगै अब बजारले कुन बाटो समात्ला भन्ने आम चासो बढेको छ। लगातार दोस्रो दिनको करेक्सन भए पनि बजारमा आत्तिएर सेयर बेच्ने (प्यानिक सेल) भन्दा पनि लगानीकर्ताहरू ‘पर्ख र हेर’ को रणनीतिमा बस्दा आगामी दिनमा बजारले सकारात्मक लय समात्न सक्ने बलिया संकेतहरू देखिएका छन्।

सोमबारको कारोबार तथ्यांकले बजार घट्दा लगानीकर्ता सस्तोमा सेयर फाल्न तयार नभएको स्पष्ट पारेको छ। शुक्रबार झन्डै पौने ९ अर्बको सेयर किनबेच भएकोमा सोमबार यो रकम घटेर ७ अर्ब १८ करोड रुपैयाँमा सीमित भयो। सबै १३ वटै उपसमूह राताम्मे भएर नाफा सुरक्षित गर्ने (प्रोफिट बुकिङ) प्रवृत्ति हाबी भए पनि, कारोबार रकम (भोल्युम) मा आएको यो संकुचनले बजारमा ‘सेलिङ प्रेसर’ कमजोर हुँदै गएको देखाउँछ। यस्तो अवस्थामा आगामी दिनमा बजारले तल्लो बिन्दुबाटै ‘सपोर्ट’ लिएर फर्किने अपेक्षा गर्न सकिन्छ। लाभांश घोषणा गरेको मकर जितुमाया सुरी हाइड्रोपावर वा उछाल देखिएको बेनी हाइड्रोपावर जस्ता कम्पनीमा देखिएको आकर्षणले ‘स्मार्ट मनी’ सुरक्षित र प्रतिफलमुखी कम्पनीतिर सिफ्ट भइरहेको देखाउँछ। घलेम्दी हाइड्रो, ग्लोबल आइएमई बैंक र कुमारी बैंकमा देखिएको उच्च कारोबारले बजारमा तरलता र खरिदबिक्रीको उत्साह अझै ज्युँदै रहेको पुष्टि गर्छ।

प्राविधिक विश्लेषणका आधारमा हेर्दा अबको बजारको यात्रा निकै चासोलाग्दो हुने देखिन्छ। दैनिक चार्टमा ‘बियरिस’ (रातो) क्यान्डल बनेर बिक्रीकर्ता हाबी भएको देखिए पनि यसलाई बजारको अस्वाभाविक पतन मान्न सकिँदैन। नेप्सेले भर्खरै मात्र एउटा लामो ‘डाउनट्रेन्ड लाइन’ लाई तोडेर (ब्रेकआउट) माथिको बाटो तय गरेको थियो। त्यसैले, हालको यो गिरावटलाई सोही ब्रेकआउट पछिको ‘रि-टेस्ट’ अर्थात् बजारले आफ्नो जग बलियो बनाउन गरेको प्राविधिक पुलब्याकका रूपमा मात्र व्याख्या गरिएको छ। यसले बजारलाई अझ दिगो रूपमा माथि जान मद्दत पुर्‍याउने प्राविधिक मान्यता छ।

बजारको आगामी बाटो सकारात्मक नै रहने थप आधारहरू इन्डिकेटरहरूले पनि दिएका छन्। १४ दिनको आरएसआई केही तल झरेर ५८.६१ को बिन्दुमा रहे पनि यो अझै ‘बुलिस जोन’ (सकारात्मक क्षेत्र) मै छ, जसले बजारको लय पूर्ण रुपमा बिग्रिनसकेको संकेत गर्छ। त्यस्तै, म्याक्डी  लाइन १८.५३ मा रहेर आफ्नो सिग्नल लाइन (९.९६) भन्दा माथि नै हिँडिरहनु र इचिमोकु क्लाउड  भन्दा माथि नै नेप्सेको सूचक तैरिनुले मध्यकालीन ट्रेन्ड अझै सुरक्षित रहेको प्रस्ट्याउँछ।

अब बजार सहभागीहरूको सम्पूर्ण ध्यान नेप्सेको नजिकको टेवा विन्दु २६०२.३९ मा केन्द्रित हुनेछ। यदि आगामी कारोबार दिनहरूमा बजारले यो विन्दुलाई नतोडी यहीँबाट बटम बनाएर माथितिरै फर्किएमा नेप्सेले छिट्टै २७५४.०८ को प्रतिरोध  लाई परीक्षण गर्ने अनुमान गर्न सकिन्छ। समग्रमा भन्नुपर्दा, अहिलेको गिरावट आत्तिहाल्नुपर्ने अवस्था नभई बजारले नयाँ उचाइको यात्रा तय गर्नुअघि लिएको ‘स्वस्थ विश्राम’ का रूपमा अगाडि बढ्ने सम्भावना प्रबल देखिन्छ।