Dhulikhel Eco Banner new

देशभर आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान

455
shares

काठमाडौं, १७ कात्तिक। सरकारले आज र भोलि देशभर दुईदिने भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सञ्चालन गर्दैछ।

अभियानअन्तर्गत ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

स्वास्थ्य सेवा विभागका अनुसार यस अभियानमार्फत करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ। अभियान सफल बनाउन देशभर करिब ५२ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको विभागले जनाएको छ।

सरकारले बालबालिकामा कुपोषणको जोखिम न्यूनीकरण तथा स्वास्थ्य र पोषणको अवस्था सुधार गर्ने उद्देश्यले वर्षमा दुईपटक कात्तिक र वैशाखमा यस्तो अभियान सञ्चालन गर्दै आएको छ।

भिटामिन ‘ए’ को कमीबाट हुन सक्ने स्वास्थ्य समस्याको रोकथाम तथा जुकाको संक्रमणबाट बालबालिकालाई जोगाउन अभियान महत्वपूर्ण मानिन्छ। सरकारले लक्षित उमेर समूहका सबै बालबालिकालाई नजिकैको स्वास्थ्य संस्था वा तोकिएका वितरण केन्द्रमा लगेर औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।