नागढुंगा सुरुङमार्गको पहिलो दिनमै ११ लाख ७० हजार रुपैयाँ राजस्व संकलन
वि.सं.२०८३ कात्तिक १७ मंगलवार १२:१३
shares

काठमाडौं, १७ कात्तिक। नागढुंगा सुरुङमार्ग सञ्चालनको पहिलो दिनमै उत्साहजनक प्रतिक्रिया देखिएको छ । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट पहिलो दिन करिब ११ लाख ७० हजार रुपैयाँ टोल शुल्क संकलन भएको छ ।
आइतबार सुरुङमार्ग हुँदै करिब ७ हजार ५०० सवारीसाधन आवतजावत गरेका छन् । यो संख्या आयोजनाले प्रारम्भिक रूपमा अनुमान गरेको दैनिक ५ हजार सवारीसाधनभन्दा २ हजार ५०० ले बढी हो ।
सुरुङमार्गबाट टोल शुल्कबापत वार्षिक ३५ देखि ४० करोड रुपैयाँसम्म राजस्व संकलन हुने अपेक्षा गरिएको छ । यसले नेपालको सडक पूर्वाधार विकाससँगै यातायात व्यवस्थापन र राजस्व संकलनमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नागढुंगा सुरुङमार्ग नेपालको यातायात पूर्वाधार विकासमा महत्वपूर्ण आयोजना मानिन्छ । यसको सञ्चालनले नागढुंगा सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारीसाधनलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।



















