Dhulikhel Eco Banner new

बरुण हाइड्रोपावरको नाफा १९ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो २ करोड २६ लाख

442
shares

काठमाडौं, १९ कात्तिक । बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा र विद्युत् बिक्री आम्दानी दुवैमा वृद्धि गरेको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ करोड २६ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ८९ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो। यसअनुसार कम्पनीको खुद नाफा १९.२४ प्रतिशतले बढेको हो।

कम्पनीको नाफा बढ्नुमा विद्युत् बिक्री आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा आएको कमीले मुख्य भूमिका खेलेको देखिन्छ।

समीक्षा अवधिमा विद्युत् बिक्रीबाट कम्पनीले ४ करोड १४ लाख २६ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ३ करोड ९४ लाख ७३ हजार रुपैयाँ थियो।

यस अवधिमा कम्पनीको कुल ग्रस प्रोफिट ३ करोड ५० लाख रुपैयाँ र सञ्चालन मुनाफा ३ करोड २७ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको वित्तीय खर्चमा समेत उल्लेख्य कमी आएको छ। गत वर्षको पहिलो त्रैमासमा ६४ लाख ५७ हजार रुपैयाँ रहेको वित्तीय खर्च चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४५ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड २५ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, जगेडा तथा कोषमा ११ करोड ३६ लाख १८ हजार रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।

वित्तीय सूचकांकअनुसार कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ७ पैसा पुगेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४० पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३६ रुपैयाँ ९० पैसा कायम भएको छ।