Dhulikhel Eco Banner new

स्पेनको बार्सिलोनामा भव्य देउसी–भैलो हुँदै, कलाकार सहायता अक्षय कोष स्थापना गरिने

507
shares

काठमाडौं, १९ कात्तिक।  नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै प्रवासमा नेपाली पहिचानलाई जीवन्त राख्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाको आयोजनामा स्पेनको बार्सिलोनामा देउसी–भैलो कार्यक्रम आयोजना हुने भएको छ।

आगामी ९ नोभेम्बर २०२६ मा आयोजना हुने कार्यक्रमको मुख्य उद्देश्य नेपाली कलाकारहरूको सहयोगार्थ ‘कलाकार आकस्मिक सहायता अक्षय कोष’ स्थापना गर्नु रहेको आयोजकले जनाएको छ। आर्थिक तथा अन्य कठिन परिस्थितिमा परेका कलाकारहरूलाई आवश्यक सहयोग पुर्‍याउने लक्ष्यसहित स्थापना गर्न लागिएको यस कोषलाई नेपाली कला क्षेत्रप्रतिको महत्वपूर्ण सामाजिक अभियानका रूपमा लिइएको छ।

तिहारको अवसरमा आयोजना हुन लागेको यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, भाइचारा र एकता अभिवृद्धि गर्नुका साथै नेपाली लोकसंस्कृति र मौलिक परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको युरोप शाखाका अध्यक्ष सुबास पुनले बताउनुभएको छ।

आयोजकका अनुसार ८ नोभेम्बर दिनभर तथा राति समय मिलेसम्म र ९ नोभेम्बर बिहानदेखि साँझ ५ बजेसम्म नेपाली समुदायका घर–आँगनमा पुगेर देउसी–भैलो खेलिनेछ। कार्यक्रममा स्थानीय कलाकारहरूका साथै युरोप शाखाका पदाधिकारीहरूको समेत सहभागिता रहनेछ।

विदेशी भूमिमा नेपाली संस्कृति र पहिचानको प्रचारसँगै कलाकारहरूको सुख–दुःखमा साथ दिने उद्देश्य बोकेको यस अभियानमा सहभागी भई सहयोग गर्न आयोजकले स्पेनस्थित सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरेको छ।

देउसी–भैलो हाम्रो संस्कृति, कलाकार हाम्रो पहिचान; संरक्षण र सहयोग हाम्रो साझा अभियान।