Dhulikhel Eco Banner new

उदयपुरको वेलकामा मनपरी दाँतको उपचार : पैसा असुल्न जनताको स्वास्थ्यमाथि खेलबाँड

1.73K
shares

काठमाडौं, १९ कात्तिक । उदयपुरको बेलका नगरपालिका–९ रामपुर बजारस्थित सरस्वती क्लिनिकमाथि दाँत उपचारका नाममा मनपरी गरेको पाइएको छ । बिरामीलाई अनावश्यक उपचार गराएर आर्थिक शोषण गर्नुका साथै स्वास्थ्य जस्तो संवेदनशील कुरामा लापरवाही साथ उपचार गराएको पीडितले गुनासो गरेका छन् ।

सामान्य दाँतको समस्या लिएर उपचारका लागि पुगेका बिरामीको स्वस्थ दाँतसमेत काटेर उपचार गराएको केटिएम भ्वाइसमा पीडितले गुनासो गरेका छन् ।

पीडितमध्ये एक जनाका अनुसार उनी दाँतबीच रहेको सामान्य खाली ठाउँ (ग्याप) मिलाउने उद्देश्यले उक्त क्लिनिक पुगेका थिए । तर क्लिनिकले दाँत काट्नैपर्ने भन्दै आफूलाई गलत जानकारी दिएको र चारवटा दाँत काटिएको उनको आरोप छ ।

‘म सामान्य ग्याप मिलाउन भनेर क्लिनिक गएको थिएँ । तर मलाई दाँत काट्नैपर्छ भनेर भनियो । त्यसपछि चारवटा दाँत काटेर ग्याप भएको ठाउँमा अर्को नक्कली दाँत लगाइदिए,’ पीडितले भने ।

उपचारपछि असहज महसुस भएपछि उनी अन्य चिकित्सकसँग परामर्श लिन पुगे । ती चिकित्सकको परामर्शपछि मात्रै आफूले दाँत काट्न आवश्यक नै नभएको जानकारी पाएको उनको भनाइ छ ।

‘पछि अर्को डाक्टरसँग सल्लाह गर्दा मेरो दाँत काट्नै नपर्ने रहेछ भन्ने थाहा पाएँ । पैसाका लागि मेरो स्वस्थ दाँत बिगार्ने काम भयो,’ उनले भने ।

आफूले भोगेको समस्याबारे थप बुझ्दै जाँदा अन्य बिरामीले पनि यस्तै प्रकृतिको समस्या भोगेको जानकारी पाएको पीडितको दाबी छ । उपचारको नाममा अनावश्यक रूपमा स्वस्थ अंगमा क्षति पुर्‍याउनु गम्भीर विषय भएको भन्दै उनले सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग गरेका छन् ।

पीडितका अनुसार यस विषयमा नेपाल मेडिकल काउन्सिलसँग समेत जानकारी लिँदा चिकित्सकीय आचारसंहिता र उपचारको औचित्यसँग जोडिएका विषयमा प्रश्न उठ्न सक्ने जानकारी पाएका छन् ।

दाँत उपचारमा कुन दाँत काट्ने, कुन अवस्थामा कृत्रिम दाँत राख्ने र वैकल्पिक उपचार के हुन सक्छ भन्ने निर्णय बिरामीको स्वास्थ्य अवस्थाको परीक्षण तथा चिकित्सकीय आवश्यकताका आधारमा हुनुपर्ने हुन्छ । उपचार आवश्यक नभएको अवस्थामा पनि आर्थिक लाभका लागि बिरामीलाई त्यस्तो उपचार गर्न प्रेरित गरिएको हो भने त्यो गम्भीर चिकित्सकीय नैतिकताको विषय बन्न सक्छ ।

यस प्रकरणमा मुख्य प्रश्न उठेको छ—सामान्य दाँतको ग्याप मिलाउन पुगेका बिरामीको चारवटा दाँत किन काटियो? उपचारअघि बिरामीलाई त्यसको आवश्यकता, जोखिम र वैकल्पिक उपायबारे जानकारी दिइएको थियो कि थिएन? उपचार गर्ने व्यक्ति सम्बन्धित विषयमा योग्य तथा दर्तावाल चिकित्सक हुन् कि होइनन् ? यस्ता प्रश्नको जवाफ सम्बन्धित निकायको निष्पक्ष छानबिनबाट मात्रै प्राप्त हुन सक्छ ।

यस विषयमा सरस्वती क्लिनिकको सञ्चालक शम्भु शाहले पनि कमजोरी स्वीकार गरेका छन् । उनले उपचारमा संलग्न उपचारमा संलग्न तीन जना मध्ये एक जना चिकित्सकलाई जिम्बेवारीबाट हटाइएको समेत बताएका छन् । बिरामीको सहमतिमै दाँत काटिएको उनको दावी छ । दाँत काटिएपछि बिरामीले असहज महसुस गरेको र बिरामीको गुनासो पछि डाक्टरलाई हटाइएको उनले बताए । यद्यपि, पीडितले विभिन्न तरिकाले आफूलाई धम्काउने काम गरेको उनले आरोप लगाए ।

क्लिनिक भने आफूले औपचारिक रुपमा दर्ता गरेर नै सञ्चालन गरिएको उनको दावी छ । उनी भारतीय नागरिक रहेको दावी गरिएपनि आफू नेपाली नै सञ्चालक शाहले बताए । आफू कहिलेकाही भारत घुम्न चाहिँ जाने गरेको भए पनि आफू सुनसरीको इनरुवाको वासिन्दा भएको बताए ।

स्वास्थ्य उपचार नागरिकको आधारभूत आवश्यकता हो । तर उपचारकै नाममा बिरामीको स्वास्थ्यमा अनावश्यक जोखिम सिर्जना गरिन्छ भने त्यसको जवाफदेहिता कसले लिने ? रामपुरको यो प्रकरणले स्थानीयस्तरमा सञ्चालित स्वास्थ्य तथा दन्त उपचार केन्द्रको नियमन, अनुगमन र चिकित्सकीय सेवाको गुणस्तरमाथि समेत प्रश्न उठाएको छ ।

हामीले यस विषयमा नेपाल मेडिकल काउन्सिलका प्रवक्तालाई बिहीबार अपरान्ह सम्पर्क गरेका थियौँ । काउन्सिलको ल्याण्डलाइन नम्बर ०१४३७७१६४ मा सम्पर्क गर्दा काउन्सिलका प्रतिनिधिले अनावश्यक रुपमा दाँत काट्नु वा उखेल्नु चिकित्सकीय आचारसंहिताभित्र नपर्ने बताए । उनका अनुसार पीडितले उजुरी दिएमा आवश्यक कारबाही प्रक्रिया अघि बढ्नेछ ।

वेलका नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भरत घिमिरेले क्लिनिकका बारेमा आफूलाई कुनै गुनासो प्राप्त भइनसकेको र गुनासो प्राप्त भए गलत गर्नेलाई कारबाही हुने बताएका छन् । नगरपालिकाकै स्वास्थ्य प्रमुख विनोद मिश्रले आफू बाहिर भएको र यसबारे बुझेरमात्रै प्रतिक्रिया दिने बताए ।