Dhulikhel Eco Banner new

उज्यालोको पर्व तिहार सुरु, आज धनतेरस मनाइँदै

559
shares

नेपालीहरूको दोस्रो ठूलो चाड तथा उज्यालोको पर्व तिहार (यमपञ्चक) आजबाट विधिवत् रूपमा सुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चकको पहिलो दिन आज ‘धनतेरस’ अर्थात् धनवन्तरी त्रयोदशी मनाइँदैछ । यस दिन विशेषगरी आयुर्वेदका ज्ञाता धन्वन्तरि र धनका देवता कुबेरको पूजाआराधना गर्ने परम्परा छ ।

धनतेरसको अवसर पारेर आज बजारमा सुनचाँदीका गरगहना तथा नयाँ भाँडाकुँडा किन्नेहरूको चहलपहल हुन्छ । समुद्र मन्थनका क्रममा अमृत भरिएको कलशसहित धन्वन्तरि प्रकट भएको पौराणिक मान्यताका आधारमा यस दिन नयाँ भाँडाकुँडा र धातुका सामग्री खरिद गर्नुलाई निकै शुभ मान्ने गरिन्छ ।

यसै दिनदेखि यमपञ्चक पनि प्रारम्भ हुने भएकाले आजै साँझ घरको मूल ढोकाबाहिर यमराजको नाममा बत्ती (दियो) बाल्ने प्रचलन छ । बहिनी यमुनाको निम्तो स्वीकार गरी पृथ्वीमा आउने यमराज झुक्किएर आफ्नो घरमा प्रवेश नगरून् र परिवारमा कुनै रोगव्याधि नलागोस् भनी उनको प्रसन्नताका लागि घरबाहिर यमदीप दान गर्ने गरिएको शास्त्रीय जनविश्वास रहेको छ ।