Dhulikhel Eco Banner new

नेपाली रुपैयाँ इतिहासको कमजोर, कस्तो पर्छ अर्थतन्त्रमा प्रभाव ?

7.33K
shares

काठमाडौं, ३१ असार । नेपाली रुपैयाँ दिनप्रतिदिन कमजोर बन्ने क्रम जारी रहेको छ । लगातार रुपमा अमेरिकी डलरको तुलनामा निकै कमजोर बनेको नेपाली रुपैयाँ शुक्रबार इतिहासकै सबैभन्दा कमजोर बनेको हो । शुक्रबार एक अमेरिकी डलरको मूल्य १२८ रुपैयाँ ११ पैसा पुगेको छ । यो अघिल्लो दिन १२८ रुपैयाँ १० पैसा रहेको थियो ।

गत फागुन २२ गते एक अमेरिकी डलरको मूल्य १२३ रुपैयाँ ४५ पैसा पुगेको थियो । त्यसपछि लगातार रुपमा बढ्दै गएर शुक्रबारका लागि नयाँ रेकर्ड कायम गरेको हो । यसले नेपालको अर्थतन्त्रमा निकै नकारात्मक असर गर्ने अर्थविद्हरुले बताएका छन् । आयातमुखि अर्थतन्त्र रहेको नेपालजस्तो देशमा डलरको मूल्य बढ्दा सबै क्षेत्रमा नकारात्मक प्रभाव परेको अर्थविद डा.चन्द्रमणी अधिकारीले बताए ।

नेपाली रुपैयाँको भारुसँग स्थिर विनिमय भएकाले पनि अमेरिकी डलरको तुलनामा भारु कमजोर हुँदा नेपाली रुपैयाँमा समेत असर परेको हो । नेपालले विदेशी राष्ट्रसँग लिएको ऋणको ब्याज र साँवा समेत डलरमा तिर्नु पर्ने भएकाले यसबाट नेपालको अर्थतन्त्रमा निकै दवाब पर्ने देखिन्छ ।

पछिल्लो समय रुस र युक्रेनको युद्धका कारण पनि डलरको मूल्यमा प्रभाव परेको हो । नेपालले अधिकांश वस्तु आयात गर्ने भएकाले पनि सिधा नेपालको भान्सामा नै प्रभाव पर्ने अर्थविदहरुको भनाइ छ ।

नेपालमा आउने पर्यटकबाट विदेशी डलर भित्रने र फाइदा पुग्ने अनुमान गरे पनि नेपाल आउने पर्यटकबाट भित्रने रकमभन्दा नेपालबाट विदेश घुम्नमा जाने खर्च बढी रहेको छ । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा ८३ अर्ब रुपैयाँभन्दा बढी विदेश घुम्नमा खर्च भएको छ भने नेपालले २५ अर्ब रुपैयाँ मात्रै विदेशी पर्यटकबाट आम्दानी गरेको छ ।