Dhulikhel Eco Banner new

मेटलाइफको बीमाशुल्क आर्जन १२% बढ्दा नाफा ४६% ले घट्यो

650
shares

काठमाडौं, २९ कात्तिक। अमेरिकी जीवन बीमा कम्पनी मेटलाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कुल बीमाशुल्क आर्जन १२.१९ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ११.९६ प्रतिशतले बढेको छ । गत वर्ष असोजसम्म १ अर्ब ५९ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु वर्षको सोही अवधिमा १ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ पुर्‍याएको छ ।

व्यवसाय विस्तारमा सुधार देखिए पनि कम्पनीको खुद नाफामा भने गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ९ करोड ७१ लाख रुपैयाँ थियो । यसअनुसार कम्पनीको नाफा ४६.०९ प्रतिशतले घटेको छ ।

कम्पनीको जीवन बीमा कोषको आकार भने बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म ३० अर्ब ६१ करोड ४४ लाख रुपैयाँ रहेको जीवन बीमा कोष चालु वर्षको सोही अवधिमा बढेर ३४ अर्ब ३९ करोड ४० लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा १२.३५ प्रतिशतको वृद्धि हो ।

यस्तै, समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ६५ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ । गत आर्थिक वर्षको असार मसान्तमा यस्तो कोषमा ६४ करोड ९९ लाख रुपैयाँ थियो ।

त्यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ६३ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यो रकम २ अर्ब ५९ करोड १८ लाख रुपैयाँ थियो । अन्य इक्विटी पनि असार मसान्तको १ अर्ब ३२ करोड ५ लाख रुपैयाँबाट बढेर १ अर्ब ३२ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

समग्रमा मेटलाइफको पहिलो त्रैमासिक वित्तीय विवरणमा बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा वृद्धि देखिए पनि नाफामा भने उल्लेख्य संकुचन आएको छ ।