Dhulikhel Eco Banner new

नेपालमा ६ करोड डलरको कार्बन वित्त कार्यक्रम : २०३० सम्म ३०० केन्द्रबाट वातावरणमैत्री इँटा उत्पादन गर्ने लक्ष्य

793
shares

काठमाडौं, २९ कात्तिक। नेपालको परम्परागत इँटा उद्योगलाई वातावरणमैत्री बनाउने उद्देश्यसहित ६ करोड अमेरिकी डलर (करिब ८ अर्ब रुपैयाँ) बराबरको कार्बन वित्त कार्यक्रम घोषणा गरिएको छ ।

सन् २०३० सम्म देशभर ३०० वटा उत्पादन केन्द्र स्थापना गरी वातावरणमैत्री प्रविधिबाट इँटा उत्पादन गर्ने कार्यक्रमको लक्ष्य छ ।

हुलास इको ब्रिक्सको नेतृत्वमा इन्नोसीएसआर (InnoCSR) र दिवाकर गोल्छा अर्गनाइजेसनको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत इँटा उत्पादकलाई हाइड्रोलिक मेसिन उपलब्ध गराउनुका साथै बजार व्यवस्थापनमा समेत सहयोग गरिनेछ ।

परम्परागत इँटा उत्पादनका लागि भट्टामा कोइला बालेर इँटा पकाउनुपर्ने हुन्छ । यस प्रक्रियाबाट ठूलो मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन हुनुका साथै वायु प्रदूषणसमेत बढ्ने गरेको छ ।

तर, नयाँ प्रविधिमा आधारित ‘गुड ब्रिक्स’ (Good Bricks) उत्पादन गर्दा माटो, सिमेन्ट र विशेष प्रकारको स्टेबलाइजर प्रयोग गरिन्छ । यी सामग्रीलाई हाइड्रोलिक मेसिनमार्फत उच्च चाप दिएर इँटाको आकारमा तयार गरिन्छ । यसरी उत्पादन गरिने इँटालाई भट्टामा पकाउनु पर्दैन ।

कार्यक्रम पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक ३ अर्ब वटा भट्टामा नपकाइएका इँटा उत्पादन गर्ने अपेक्षा गरिएको छ । यसबाट वार्षिक रूपमा १५ लाख टनसम्म कार्बनडाइअक्साइड उत्सर्जन रोक्न सकिने अनुमान छ ।

नेपालको निर्माण क्षेत्रमा इँटाको ठूलो माग रहेकाले यस प्रविधिको विस्तारले परम्परागत इँटा उद्योगलाई स्वच्छ उत्पादन प्रणालीतर्फ रूपान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, वायु प्रदूषण न्यूनीकरण र जलवायु परिवर्तनका असर कम गर्ने प्रयासमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।