Dhulikhel Eco Banner new

सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई १५ हजारसम्म जरिवाना प्रस्ताव

819
shares

काठमाडौं, २९ कात्तिक। सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने व्यक्तिलाई १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्तावसहित सरकारले संसद्मा विधेयक दर्ता गरेको छ ।

सरकारले पहिलोपटक सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने र पटक–पटक यस्तो कार्य दोहोर्‍याउनेलाई १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरेको हो । जरिवानासँगै फोहोर संकलन तथा व्यवस्थापनमा लागेको खर्चसमेत सम्बन्धित व्यक्तिबाट असुल गरिने विधेयकमा उल्लेख छ ।

त्यस्तै, सार्वजनिक स्थानमा राखिएका फोहोर संकलन गर्ने डस्टबिन तोडफोड गर्ने वा हटाउने व्यक्तिलाई १५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ ।

विधेयकमा सार्वजनिक स्थानमा कुहिने, नकुहिने र हानिकारक फोहोर छुट्टाछुट्टै संकलन गर्न मिल्ने गरी ढक्कनसहितका डस्टबिन राख्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्ता फोहोरको नियमित संकलन तथा व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लाम्सालले संसद्मा दर्ता गराएको विधेयकअनुसार सार्वजनिक स्थानमा आवश्यक डस्टबिनको व्यवस्था नभएका निकाय तथा स्थानले तीन महिनाभित्र त्यस्तो व्यवस्था मिलाउनुपर्नेछ ।

फोहोर व्यवस्थापनमा सरकारका विभिन्न तहको जिम्मेवारी स्पष्ट पार्ने, जनस्वास्थ्य तथा वातावरणमा पर्ने जोखिम न्यूनीकरण गर्ने र फोहोरको पुनःप्रयोग तथा पुनर्चक्रणलाई प्रोत्साहन गर्ने उद्देश्यले विधेयक ल्याइएको सरकारले जनाएको छ ।

प्रस्तावित व्यवस्था संसद्बाट पारित भई कानुन बनेपछि सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने तथा फोहोर व्यवस्थापनका सामग्रीमा क्षति पुर्‍याउनेमाथि कडा कारबाहीको बाटो खुल्नेछ ।