Dhulikhel Eco Banner new

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ मंसिर १० देखि खुल्ने, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई अवसर

663
shares

काठमाडौं, ३० कात्तिक। कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गर्नेछ। उक्त शेयर काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ७ का बासिन्दाले आवेदन दिन पाउनेछन्।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ९० लाख रुपैयाँ बराबरको ९० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ।

कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने मंसिर १५ गतेसम्म आवेदन दिने म्याद तोकिएको छ। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि मंसिर २४ गतेसम्म थप हुनेछ।

कहाँबाट दिने आवेदन ?

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आवेदन फारामबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी सी–आस्बा प्रक्रियाबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको वित्तीय अवस्था र रेटिङ

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस’ (CARE-NP BB+) इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ४.५० वर्ष र डिस्काउन्ट लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ।

त्यस्तै, कम्पनीको खुद वर्तमान मूल्य (NPV) १ अर्ब ५९ करोड ९८ लाख ६६ हजार ७५८ रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर (IRR) २४.२७ प्रतिशत रहेको छ।