Dhulikhel Eco Banner new

ग्रीन भेन्चर्सको नाफा ११ प्रतिशत बढेर ३३ करोड ६७ लाख पुग्यो, विद्युत् बिक्री आम्दानीमा पनि वृद्धि

1.6K
shares

काठमाडौं, ३० कात्तिक।  लिखु–४ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी ग्रीन भेन्चर्स लिमिटेड (GVL) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म ३३ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा ३० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा ११.१८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ५८ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ५७ करोड ५८ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको विद्युत् बिक्री आम्दानी २।३४ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको आयोजना सञ्चालन खर्च समीक्षा अवधिमा १६ करोड ३४ लाख रुपैयाँ रहेको छ। उक्त खर्च कटाएपछि कम्पनीको कुल मुनाफा ४२ करोड ५८ लाख रुपैयाँ कायम भएको छ।

त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा ४१ करोड ८८ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सञ्चालन मुनाफा ४१ करोड ११ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वित्तीय खर्चमा पनि कमी आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ८७ लाख रुपैयाँ रहेको खुद वित्तीय खर्च चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ८ करोड २१ लाख रुपैयाँमा सीमित भएको छ। यसअनुसार वित्तीय खर्च २ करोड ६६ लाख रुपैयाँले घटेको छ।

कम्पनीको चुक्तापुँजी ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको सञ्चित मुनाफा १ अर्ब १७ करोड ६० लाख रुपैयाँ रहेको छ। चुक्तापुँजी र सञ्चित मुनाफासहित कम्पनीको कुल इक्विटी ४ अर्ब ६१ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको त्रैमासिक प्रतिशेयर आम्दानी (ईपीएस) गत आर्थिक वर्षको सोही अवधिमा ८ रुपैयाँ ८० पैसा रहेकोमा चालु आर्थिक वर्षमा बढेर ९ रुपैयाँ ८० पैसा पुगेको छ। यसको वार्षिकीकृत प्रतिशेयर आम्दानी ३९ रुपैयाँ १९ पैसा रहेको छ।

त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ २१ पैसा रहेको छ। इक्विटीमा प्रतिफल ७।३० प्रतिशत र तरलता अनुपात १.८६ गुणा कायम भएको वित्तीय विवरणमा उल्लेख छ।

यसरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्रीन भेन्चर्सको विद्युत् बिक्री आम्दानी, सञ्चालन मुनाफा र खुद नाफामा अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ। यस अवधिमा कम्पनीको वित्तीय खर्चसमेत घटेको वित्तीय विवरणले देखाएको छ।