आमायाङ्ग्रीमा आध्यात्मिक तथा सांस्कृतिक पर्यटन कार्यक्रम सम्पन्न, ४१ जनाको सहभागिता
वि.सं.२०८३ कात्तिक ३० सोमवार १४:५९
shares

काठमाडौं, ३० कात्तिक। सिन्धुपाल्चोक जिल्लाको हेलम्बुस्थित आमायाङ्ग्रीमा योग, ध्यान, साउन्ड हिलिङ तथा नेपाली मौलिक सांस्कृतिक प्रस्तुतिसहितको आध्यात्मिक, साहसिक तथा सांस्कृतिक पर्यटन कार्यक्रम सम्पन्न भएको छ।
‘आध्यात्मिक, साहसिक तथा सांस्कृतिक पर्यटन यात्रा : योगी यात्रा, आरोग्य खोजी’ नाम दिइएको उक्त कार्यक्रम न्यू भिजन नेपालको आयोजनामा, काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागको सहयोग र हिमालयन वेलनेस फाउन्डेसनको सहकार्यमा सञ्चालन गरिएको हो। कार्यक्रममा ४१ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा योग अभ्यास, ध्यान तथा साउन्ड हिलिङका विभिन्न सत्र सञ्चालन गरिएको थियो। योगी अशोक शर्मा भट्टले सहभागीहरूलाई योग अभ्यास गराउनुभएको थियो भने उहाँकै नेतृत्वमा ध्यान तथा साउन्ड हिलिङ सत्र सञ्चालन गरिएको थियो। कार्यक्रममा न्यू भिजन नेपालका महासचिव रूपक अर्याल र देवन श्रेष्ठले पनि योग तथा ध्यान अभ्यासमा सहभागी हुनुभएको थियो।
कार्यक्रमअन्तर्गत नेपाली मौलिक कला तथा नेवारी संस्कृतिसँग सम्बन्धित सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो। सबनम खड्गीले मञ्जुश्री नृत्य र राजमती महर्जनले कुमारी नृत्य प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, राजमती महर्जन, रेन्सी सिलवाल र पूजा खड्गीले नेवारी सांस्कृतिक नृत्य प्रस्तुत गर्नुभएको थियो।
सांस्कृतिक नृत्यहरूको संयोजन तथा तयारी न्यू भिजन नेपालकी कोषाध्यक्ष सबनम खड्गीले गर्नुभएको थियो। उहाँले कार्यक्रमको सहजीकरणसमेत गर्नुभएको थियो।
कार्यक्रममा प्राकृतिक वातावरणमा योग तथा ध्यान अभ्याससँगै नेपाली मौलिक कला र संस्कृतिसम्बन्धी प्रस्तुति समावेश गरिएको थियो। धार्मिक तथा पर्यटकीय गन्तव्य आमायाङ्ग्रीमा आयोजना गरिएको यात्राले प्रकृति, अध्यात्म, स्वास्थ्यसम्बन्धी अभ्यास र सांस्कृतिक पर्यटनलाई एउटै कार्यक्रममा समेटेको आयोजकले जनाएको छ।
न्यू भिजन नेपालले आगामी दिनमा पनि योग, ध्यान, साउन्ड हिलिङ, नेपाली कला तथा संस्कृति र आध्यात्मिक पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रम न्यू भिजन नेपालको आयोजनामा, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागको सहयोग तथा हिमालयन वेलनेस फाउन्डेसनको सहकार्यमा सम्पन्न भएको हो।
















