Dhulikhel Eco Banner new

२७ वर्षपछि कर्णाली करिडोरको स्तरोन्नति हुँदै, ३ अर्बभन्दा बढीको ठेक्का स्वीकृत

1.74K
shares

काठमाडौं, २ मंसिर । निर्माण सुरु हुने प्रतीक्षामा २७ वर्षभन्दा बढी समय बिताएको कर्णाली करिडोरले अब पूर्वाधार विकासमा गति लिने भएको छ । करिडोरअन्तर्गत विभिन्न सडक खण्डको निर्माण तथा स्तरोन्नतिका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय ठेक्का स्वीकृत भएको छ ।

योजनाअनुसार कर्णाली करिडोरका तीनवटा खण्डमा गरी कुल ४१ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिनेछ । जसअन्तर्गत तुम्च–सल्लीसल्ला, खुलालु–कवाडी र भुक्काखोला–पिलिचौर सडक खण्ड समेटिएका छन् ।

लामो समयदेखि बजेट अभाव र बहुवर्षीय ठेक्का प्रक्रियाको स्वीकृति नहुँदा करिडोर निर्माणले गति लिन सकेको थिएन । पछिल्लो निर्णयसँगै सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढ्ने अपेक्षा गरिएको छ ।

कर्णालीका दुर्गम क्षेत्र, विशेषगरी हुम्लाको सडक पहुँच सहज बनाउने यस आयोजनाले स्थानीयको आवागमन तथा ढुवानीमा देखिँदै आएको कठिनाइ कम गर्ने लक्ष्य राखेको छ ।

सडक पूर्वाधार विस्तारसँगै दुर्गम क्षेत्रको व्यापार, पर्यटन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । कर्णालीका विकट बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न यो करिडोरलाई महत्वपूर्ण पूर्वाधार आयोजनाका रूपमा लिइएको छ ।