Dhulikhel Eco Banner new

बर्खास्तीविरुद्ध एआईजी दाहालको पुनरावेदन, मन्त्रिपरिषद्बाट निर्णय हुने

1.13K
shares

काठमाडौं, ३ मंसिर। बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले सरकारी निर्णयविरुद्ध पुनरावेदन दिएका छन् ।

स्रोतका अनुसार दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएका हुन् । उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्सँग रहेको छ ।

मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णयलाई नै सदर गरेमा दाहालका लागि अदालत जाने बाटो खुल्नेछ । हालको प्रक्रियाअनुसार मन्त्रिपरिषद्मा पुनरावेदन नगरी सोझै अदालत जान नमिल्ने भएकाले उनले सरकारसमक्ष निवेदन दिएको स्रोतले जनाएको छ ।

संवेदनशील तथा गम्भीर सूचना चुहाएको आरोपमा सरकारले गत २३ असोजमा दाहाललाई बर्खास्त गरेको थियो । बिचौलियाको आरोप लागेका इनम सापकोटासँग उनको सम्बन्ध देखिएको र प्रधानमन्त्रीसँग सम्बन्धित सूचना चुहाएको आरोप उनीमाथि लागेको थियो ।

इनम पक्राउ परेपछि उनको मोबाइलबाट एआईजी दाहालसँगको सम्पर्क देखिएको थियो । इनमसँगको सम्बन्ध र उनलाई संवेदनशील सूचना उपलब्ध गराएको आरोपमा सरकारले गत १९ असोजमा दाहाललाई निलम्बन गरेको थियो । त्यसपछि एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा छानबिन प्रक्रिया अघि बढाइएको थियो ।

छानबिनपछि सरकारले २३ असोजमा दाहाललाई बर्खास्त गर्ने निर्णय गरेको थियो । प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरण र प्रचलित नियमअनुसार काम नगरेको भन्दै उनलाई सेवाबाट हटाइएको थियो ।

दाहालको नाम पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ प्रकरणसँग पनि जोडिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत ११ असोजमा जबरालाई उनकै निवासबाट पक्राउ गरेको थियो । राति २ बजे पक्राउ गरिएका उनलाई प्रहरीले करिब १२ घण्टासम्म नियन्त्रणमा राखेर सोधपुछ गरेको थियो ।

जबरालाई पक्राउ गरेलगत्तै एआईजी दाहाल प्रहरी हिरासतमा पुगेर भेटेको विषयसमेत सार्वजनिक भएको थियो । यही प्रकरण र इनम सापकोटासँगको सम्पर्कलाई लिएर दाहालमाथि विभिन्न प्रश्न उठेका थिए । अहिले भने उनले सरकारी बर्खास्तीको निर्णय उल्ट्याउन पुनरावेदन प्रक्रिया अघि बढाएका छन् ।