तीन दिनको गिरावटपछि नेप्सेमा सुधार, कारोबार रकम ४ अर्बमुनि
वि.सं.२०८३ मंसिर ३ बिहीवार १५:११
shares

काठमाडौं, ३ मंसिर। लगातार तीन कारोबार दिनदेखि ओरालो लागेको शेयर बजारमा बिहीबार सामान्य सुधार देखिएको छ । यस दिन नेप्से परिसूचक ३ दशमलव ६२ अंकले बढेर २ हजार ६२८ दशमलव ६७ विन्दुमा पुगेको हो ।
नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ०.७८ अंकले बढेको छ । त्यस्तै, फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंकले वृद्धि भएको छ ।
बुधबार ४ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार घटेर ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ । दिनभर ३४७ कम्पनीका ९४ लाख ३७ हजार कित्ता शेयर ४० हजार ८३७ पटकको कारोबारमार्फत किनबेच भएका छन् ।
यस दिन बोटलर्स नेपाल बालाजुको शेयर मूल्य सर्वाधिक ६ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (तराई) को शेयर मूल्य साढे ५ प्रतिशतभन्दा बढी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको करिब ५ प्रतिशतले वृद्धि भएको छ । यता, एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य सर्वाधिक ५ दशमलव ४५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक सबैभन्दा अगाडि रहेको छ । बैंकको १६ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गर्दैछ ।
त्यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनीको १५ करोड रुपैयाँभन्दा बढी र सेन्ट्रल फाइनान्सको साढे १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहमा गिरावट आएको छ । होटल तथा पर्यटन उपसमूह सर्वाधिक १ दशमलव २९ प्रतिशतले बढेको छ । बैंकिङ, वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहमा भने सामान्य वृद्धि देखिएको छ ।

















