Dhulikhel Eco Banner new

विश्व आतंकवाद सूचकांकमा नेपालको सुधार, १६३ देशमध्ये ८९औँ स्थानमा

884
shares

काठमाडौं, ३ मंसिर। विश्व आतंकवाद सूचकांक (ग्लोबल टेरोरिज्म इन्डेक्स) २०२६ मा नेपालको अवस्था सुधार भएको छ । इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल १६३ देशमध्ये ८९औँ स्थानमा परेको छ ।

सन् २०२५ मा नेपाल ६८औँ स्थानमा रहेको थियो । सन् २०२५ मा नेपालमा कुनै पनि आतंकवादी आक्रमणको घटना अभिलेख नभएको प्रतिवेदनमा उल्लेख छ ।

सूचकांकमा पाकिस्तान पहिलो स्थानमा रहेको छ भने अफगानिस्तान ११औँ, भारत १३औँ, म्यानमार १४औँ र बंगलादेश ४२औँ स्थानमा छन् । भुटान र श्रीलंकामा भने आतंकवादी गतिविधि शून्य रहेको प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनअनुसार दक्षिण एसिया लगातार दशौँ वर्ष विश्वकै सबैभन्दा बढी आतंकवाद प्रभावित क्षेत्र बनेको छ ।

विश्वव्यापी रूपमा सन् २०२५ मा आतंकवादका कारण हुने मृत्यु अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले घटेको छ । त्यस्तै, आतंकवादी आक्रमणको संख्या २२ प्रतिशतले घटेर २ हजार ९४४ मा झरेको छ ।

यद्यपि, पश्चिमी मुलुकहरूमा भने आतंकवादका कारण हुने मृत्युमा २८० प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०२४ मा युरोपेली संघ (ईयू) का १४ देशमा ५८ वटा आतंकवादी आक्रमण भएका थिए ।

समग्रमा विश्वमा आतंकवादी गतिविधि घट्दै गएको देखिए पनि क्षेत्रगत रूपमा यसको जोखिम र प्रभाव फरक–फरक रहेको प्रतिवेदनले औँल्याएको छ ।