Dhulikhel Eco Banner new

याङ्गो ग्रुपले मोबिलिटी सेवाको सुरक्षा प्रमुखमा रोमन जेम्ल्यान्स्कीलाई नियुक्त गर्‍यो

1.07K
shares

काठमाडौं, ३ मंसिर । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना विभिन्न बजारमा सञ्चालन भइरहेका मोबिलिटी सेवाको सुरक्षा व्यवस्थापनका लागि रोमन जेम्ल्यान्स्कीलाई ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको छ।

कम्पनीद्वारा जारी विवरणअनुसार जेम्ल्यान्स्कीले मोबिलिटी सेवासम्बन्धी सुरक्षा रणनीति, प्रविधिको प्रयोग र सञ्चालन मापदण्ड विकास तथा कार्यान्वयनको नेतृत्व गर्नेछन्। उनले कम्पनीका उत्पादन, व्यवसाय तथा सञ्चालन टोलीसँगै सडक सुरक्षा संस्था र स्थानीय निकायहरूसँग समन्वय गर्नेछन्।

याङ्गो ग्रुपले अफ्रिका, ल्याटिन अमेरिका, दक्षिण एसिया, मध्यपूर्व तथा उत्तर अफ्रिकालगायत क्षेत्रमा सञ्चालन गरिरहेका मोटरसाइकल तथा तीनपाङ्ग्रे सवारी सेवामा सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउने जिम्मेवारी पनि जेम्ल्यान्स्कीलाई दिइएको कम्पनीले जनाएको छ।

याङ्गो ग्रुपका सीईओ तथा याङ्गो राइडटेकका सीबीओ एडेनीयी एडेबायोले जेम्ल्यान्स्कीको नियुक्तिले कम्पनीको मोबिलिटी व्यवसायमा सुरक्षा रणनीति विकास तथा कार्यान्वयनलाई थप व्यवस्थित बनाउने बताएका छन्।

सुरक्षा प्रविधि र सञ्चालन प्रक्रियामा सुधार
कम्पनीले दुर्घटना तथा सम्भावित जोखिम पहिचानका लागि कृत्रिम बुद्धिमत्ता ९एआई०, रुट निगरानी प्रणाली र चालकको पहिचान प्रमाणीकरण प्रविधिको प्रयोग विस्तार गर्ने योजना बनाएको छ।

जेम्ल्यान्स्कीले विभिन्न देशका यातायात सेवा र स्थानीय सडक अवस्थाअनुसार यी प्रविधिको प्रयोग तथा कार्यान्वयनसम्बन्धी काम गर्नेछन्। साथै, दुर्घटनासम्बन्धी प्रतिवेदन र सुरक्षा उपायको प्रभावकारिता मूल्याङ्कन गर्ने प्रणाली विकास गर्ने जिम्मेवारी पनि उनलाई दिइएको छ।

कम्पनीले विभिन्न बजारमा कार्यान्वयनमा रहेका सुरक्षा प्रक्रियाको समीक्षा गरी आवश्यकताअनुसार सुधार तथा विस्तार गर्ने जनाएको छ। यसअन्तर्गत दुर्घटनाको मूल्याङ्कन, सम्बन्धित निकायलाई जानकारी गराउने र घटनाको समाधानका लागि समन्वय गर्ने प्रक्रियालाई व्यवस्थित बनाउने योजना छ।

सुरक्षा प्रतिवेदनमा ३१ प्रतिशत गिरावटको दाबी
याङ्गोले गत सेप्टेम्बरमा आफ्नो पहिलो ‘याङ्गो राइड सुरक्षा प्रतिवेदन’ सार्वजनिक गरेको जनाएको छ।

कम्पनीले उक्त प्रतिवेदनमा उल्लेख गरेअनुसार विश्वभर प्रति १० लाख यात्रामा रिपोर्ट गरिएका गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना ३१ प्रतिशतले घटेका छन्। प्रतिवेदनमा उक्त दर ९.८३ बाट घटेर ६.७६ पुगेको उल्लेख छ।

यद्यपि, उपलब्ध विवरणमा उक्त तथ्याङ्कको अध्ययन अवधि, गणना विधि तथा स्वतन्त्र प्रमाणीकरणबारे विस्तृत जानकारी समावेश छैन।

चालक तालिम तथा सडक सुरक्षा कार्यक्रम
याङ्गोले विभिन्न देशमा साझेदार चालक तथा कुरियरका लागि तालिम, हेल्मेट वितरण र सुरक्षात्मक सामग्री उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

कम्पनीका अनुसार पाकिस्तान, नेपाल, सेनेगल, कोलम्बिया र भेनेजुएलालगायत देशमा मोटरसाइकल चालक तथा साझेदार कुरियरलाई हेल्मेट र सुरक्षात्मक सामग्री वितरण गरिएको छ।

यसैगरी, जाम्बियाको लुसाकामा जाम्बिया रोड सेफ्टी ट्रस्टसँगको सहकार्यमा ‘सेफर जर्निज टु स्कुल’ कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ। उक्त कार्यक्रममार्फत २० विद्यालयका ३२ हजार विद्यार्थीलाई सडक सुरक्षा शिक्षा प्रदान गरिएको विवरणमा उल्लेख छ।

कार्यक्रमअन्तर्गत सुरक्षित रूपमा सडक पार गर्ने तरिका, सवारीसाधनको गति नियन्त्रण र सडक सुरक्षा सचेतनासम्बन्धी गतिविधि सञ्चालन गरिएको थियो। कम्पनीका अनुसार उक्त कार्यक्रम जाम्बियाबाट सेनेगलसम्म विस्तार गरिएको छ।

याङ्गो ग्रुपका मोबिलिटी सेवाका नवनियुक्त ग्लोबल हेड अफ सेफ्टी जेम्ल्यान्स्कीले सम्भावित जोखिम पहिचान, सुरक्षा प्रक्रिया सुधार तथा स्थानीय निकाय र संस्थाहरूसँगको सहकार्यलाई आफ्नो कार्यक्षेत्रका प्रमुख विषयका रूपमा उल्लेख गरेका छन्।

जेम्ल्यान्स्कीको व्यावसायिक पृष्ठभूमि
कम्पनीका अनुसार जेम्ल्यान्स्कीले पछिल्लो पाँच वर्षदेखि राइड–हेलिङ सेवामा सुरक्षा प्रविधिसम्बन्धी काम गर्दै आएका छन्। उनले टेक्निकल प्रोडक्ट म्यानेजरका रूपमा आफ्नो व्यावसायिक यात्रा सुरु गरी हेड अफ सेफ्टी टेक्नोलोजिजसम्मको जिम्मेवारी सम्हालेका थिए।

उनको अनुभवमा साझेदार चालक तथा कुरियरको पहिचान प्रमाणीकरण, प्रयोगकर्ता खाताको सुरक्षा र सुरक्षा मापदण्डको मूल्याङ्कनसम्बन्धी काम समावेश छन्।

याङ्गो ग्रुपबारे
संयुक्त अरब इमिरेट्स (यूएई) मा मुख्यालय रहेको याङ्गो ग्रुप विश्वव्यापी प्रविधि कम्पनी हो। कम्पनीले मोबिलिटी, डेलिभरी, फुड टेक्नोलोजी, मनोरञ्जन तथा अन्य डिजिटल सेवासम्बन्धी क्षेत्रमा काम गर्दै आएको छ।

कम्पनीले उपलब्ध गराएको विवरणअनुसार याङ्गो ग्रुपले अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व तथा दक्षिण एसियालगायत क्षेत्रमा ३५ भन्दा बढी देशमा सेवा सञ्चालन गर्दै आएको छ।