Dhulikhel Eco Banner new

४४ हजारभन्दा बढी नेपालीलाई निःशुल्क एआई तालिम दिँदै डिजिटल सोलुसन, मंसिर २० अन्तिम म्याद

910
shares

काठमाडौं, ३ मंसिर। डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी ज्ञान तथा सीप आम नेपालीसम्म पुर्‍याउने उद्देश्यले डिजिटल सोलुसन प्रा.लि.ले ४४ हजार ४४४ जनालाई निःशुल्क अनलाइन तालिम दिने भएको छ।

कम्पनीको चौथो वार्षिकोत्सवको अवसरमा ‘सबैका लागि एआई’ अभियान सुरु गरिएको हो। उक्त तालिममा सहभागी हुन इच्छुक नेपालीले आगामी मंसिर २० गतेसम्म अनलाइनमार्फत निःशुल्क दर्ता गर्न सक्नेछन्।

वि.सं. २०७९ मंसिर १ गते रबिन पौडेलले स्थापना गरेको डिजिटल सोलुसनले चार वर्ष पूरा गरेको अवसरमा यो अभियान सञ्चालन गर्न लागेको हो। कम्पनीका संस्थापक तथा एआई प्रशिक्षक पौडेलका अनुसार उनले पछिल्लो डेढ वर्षमा १० हजारभन्दा बढी व्यक्तिलाई एआईसम्बन्धी तालिम दिइसकेका छन्। त्यही अनुभवका आधारमा यसपटक ठूलो संख्यामा नेपालीलाई निःशुल्क तालिम दिने योजना बनाइएको हो।

प्राविधिक ज्ञान नभएकाले पनि सिक्न पाउने

तालिम विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्यमी तथा सर्वसाधारणलाई लक्षित गरी तयार पारिएको कम्पनीले जनाएको छ। यसका लागि प्रोग्रामिङ वा अन्य प्राविधिक ज्ञान अनिवार्य हुने छैन।

सहभागीले एआईको आधारभूत जानकारीदेखि अध्ययन, अनुसन्धान, कार्यालयको काम, व्यवसाय तथा दैनिक जीवनमा यसको व्यावहारिक प्रयोग गर्ने तरिका सिक्न पाउनेछन्।

ChatGPT, Gemini र Claude प्रयोग गर्न सिकाइने

चारदिने पाठ्यक्रममा ChatGPT, Google Gemini र Claude लगायतका एआई टुलको प्रयोगात्मक अभ्यास गराइनेछ।

त्यस्तै, एआईलाई प्रभावकारी निर्देशन (Prompt) दिने, अध्ययन तथा अनुसन्धान गर्ने, कागजात र प्रस्तुतीकरण तयार गर्ने, फोटो तथा ग्राफिक्स निर्माण गर्ने र भिडियोसहित डिजिटल सामग्री तयार पार्ने सीप सिकाइनेछ।

तालिममा एआई एजेन्ट (AI Agent) को परिचय, सामान्य एआई एजेन्ट निर्माण गर्ने तरिका र दैनिक कामलाई सहज बनाउन यसको प्रयोग कसरी गर्ने भन्ने विषयसमेत समेटिएको छ।

लाइभ र रेकर्डेड कक्षाको सुविधा

सहभागीले आफ्नो अनुकूलताअनुसार प्रत्यक्ष (Live) वा रेकर्ड गरिएको (Recorded) कक्षामार्फत तालिम लिन सक्नेछन्। दर्ता गर्ने क्रममा नै आफूले चाहेको माध्यम छनोट गर्नुपर्नेछ।

लाइभ कक्षामा सहभागी हुन नसक्नेले रेकर्ड गरिएको सामग्री हेरेर पनि अध्ययन गर्न सक्नेछन्। यसले व्यस्त विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायीलाई आफ्नो समयअनुसार सिक्ने अवसर प्रदान गर्ने कम्पनीको अपेक्षा छ।

पेशाअनुसार छुट्टाछुट्टै सिकाइ सामग्री

तालिममा सहभागीले आफ्नो पेशागत पृष्ठभूमिसमेत उल्लेख गर्नुपर्नेछ। त्यसका आधारमा विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी तथा अन्य पेशाकर्मीका लागि छुट्टाछुट्टै भिडियो सामग्री उपलब्ध गराइनेछ।

सबै सहभागीले एउटै आधारभूत पाठ्यक्रम अध्ययन गर्ने भए पनि आफ्नो काम र आवश्यकताअनुसार थप सामग्रीबाट सिक्न सक्नेछन्।

त्यस्तै, तालिम सुरु हुनुअघि र सम्पन्न भएपछि एआई, प्रविधि तथा विभिन्न उद्योगमा कार्यरत विज्ञ र अनुभवी व्यक्तिसँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिनेछ। उक्त कार्यक्रममा विभिन्न पेशामा एआईको प्रयोग, यसको प्रभाव तथा भविष्यमा सिर्जना हुन सक्ने अवसरबारे छलफल हुनेछ।

९० दिनभित्र तालिम पूरा गर्नुपर्ने, ४० प्रतिशत अंक अनिवार्य

तालिम सुरु भएको मितिदेखि ९० दिनभित्र सहभागीले तोकिएको पाठ्यक्रम, अभ्यास कार्य (Assignment) र मूल्यांकन पूरा गर्नुपर्नेछ।

प्रमाणपत्र प्राप्त गर्न मूल्यांकनमा कम्तीमा ४० प्रतिशत अंक ल्याउनुपर्नेछ। यसका साथै कम्पनीले निर्धारण गरेका अन्य मापदण्डसमेत पूरा गर्नुपर्नेछ।

अभियानको लक्ष्य ४४ हजार ४४४ जनालाई सफलतापूर्वक तालिम पूरा गराई सोही संख्यामा प्रमाणपत्र प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ।

मंसिर २० सम्म निःशुल्क दर्ता

तालिमका लागि मंसिर १ गतेदेखि अनलाइन दर्ता खुला गरिएको छ। इच्छुक नेपालीले मंसिर २० गतेसम्म निःशुल्क रूपमा आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

दर्ताका क्रममा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, पेशा तथा लाइभ वा रेकर्डेड कक्षामध्ये आफूले रोजेको माध्यमको विवरण उपलब्ध गराउनुपर्नेछ।

दर्ता प्रक्रिया पूरा भएपछि प्राप्त हुने Registration ID, इमेल ठेगाना र मोबाइल नम्बर सुरक्षित राख्न कम्पनीले अनुरोध गरेको छ। तालिममा सहभागी हुन यी विवरण आवश्यक पर्नेछन्।

कम्पनीका अनुसार तालिम सञ्चालन हुने तरिका, सिकाइ प्लेटफर्म तथा कक्षामा सहभागी हुने प्रक्रियाबारे मंसिर २१ गते थप जानकारी सार्वजनिक गरिनेछ। दर्ता गरेका सहभागीलाई इमेलमार्फत समेत आवश्यक जानकारी पठाइनेछ। कम्पनीको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालबाट पनि नियमित सूचना उपलब्ध गराइनेछ।

चार वर्षदेखि डिजिटल शिक्षा र प्रविधिमा सक्रिय

पोखरामा स्थापना भएको डिजिटल सोलुसनले विगत चार वर्षदेखि डिजिटल सेवा, प्रविधि तथा डिजिटल साक्षरतासम्बन्धी जानकारी र तालिम प्रदान गर्दै आएको छ।

कम्पनीका अनुसार डिजिटल सोलुसन र यसका संस्थापक रबिन पौडेलका सामाजिक सञ्जालमा गरी ६ लाखभन्दा बढी फलोअर तथा सब्सक्राइबर छन्।

यसअघि शुल्क लिएर एआई तालिम सञ्चालन गर्दै आएको कम्पनीले चौथो वार्षिकोत्सवको अवसरमा उक्त ज्ञान र सीप निःशुल्क रूपमा आम नेपालीसम्म पुर्‍याउन लागेको हो। ‘सबैका लागि एआई’ अभियानमार्फत नेपालीलाई नयाँ प्रविधिसँग परिचित गराउने तथा पढाइ, काम, व्यवसाय र दैनिक जीवनमा एआईको प्रयोग विस्तार गर्ने कम्पनीको लक्ष्य छ।