Dhulikhel Eco Banner new

विवाह समारोहदेखि स्कूल–कलेजसम्मका लागि शिखर सुजको नयाँ कलेक्सन

1.07K
shares

काठमाडौं, ४ मंसिर । नेपाली जुत्ता ब्रान्ड शिखर सुजले विवाह समारोह, पार्टी, औपचारिक कार्यक्रमदेखि विद्यालय तथा कलेजको पोसाकसम्मका लागि लक्षित गर्दै नयाँ डिजाइनका छालाका जुत्ता बजारमा ल्याएको छ ।

कम्पनीले बदलिँदो फेसन र उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न उमेर समूह तथा प्रयोजनका लागि उपयुक्त हुने नयाँ कलेक्सन सार्वजनिक गरेको हो । नयाँ डिजाइनका जुत्तामा आकर्षक बनावटसँगै आरामदायीपन, गुणस्तर र टिकाउपनलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।

शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंका अनुसार विवाहको सिजन नजिकिँदै गर्दा उपभोक्ताको माग र रुचिअनुसार नयाँ डिजाइनका जुत्ता बजारमा ल्याइएको हो ।

उनले लामो समयदेखि उपभोक्ताले देखाउँदै आएको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए । नयाँ पुस्ताको रुचि र आवश्यकताअनुसार उत्पादनमा विविधता ल्याउँदै आएको उनको भनाइ छ ।

“‘दीपक जी पार्टीमा ?’ भन्ने विज्ञापनले शिखर सुजलाई नेपाली उपभोक्तामाझ एउटा छुट्टै पहिचान दिएको थियो। त्यो पहिचान र उपभोक्ताले हामीप्रति देखाउनुभएको विश्वासलाई अझ बलियो बनाउँदै नयाँ पुस्ताको रुचि र आवश्यकताअनुसार उत्पादन ल्याइरहेका छौँ,” प्रसाईंले भने ।

उनका अनुसार विवाह, पार्टी तथा औपचारिक समारोहदेखि विद्यालय र कलेजसम्मका लागि उपयुक्त हुने गुणस्तरीय छालाका जुत्ता उपलब्ध गराउनु कम्पनीको उद्देश्य हो ।

कुनै समय नेपाली समाजमा औपचारिक पहिरनमा सजिएर कतै जान लागेको व्यक्तिलाई जिस्क्याउँदै सोधिने ‘दीपक जी पार्टीमा ?’ भन्ने संवाद शिखर सुजको चर्चित विज्ञापनबाट लोकप्रिय बनेको थियो । हास्य अभिनेता दीपकराज गिरीको अभिनय रहेको उक्त विज्ञापनले ब्रान्डलाई उपभोक्तामाझ थप परिचित गराएको थियो ।

तीन दशक लामो व्यावसायिक यात्रा पूरा गरेको शिखर सुजले स्वदेशी उत्पादनमार्फत नेपाली जुत्ता बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ । कम्पनीले गुणस्तर, डिजाइन र सहज उपलब्धतालाई आफ्नो व्यावसायिक यात्राको आधार बनाउँदै आएको जनाएको छ ।

नयाँ कलेक्सनमार्फत उपभोक्ताले विवाह, भोजभतेर, पार्टी, औपचारिक कार्यक्रम तथा विद्यालय र कलेजका लागि आवश्यकताअनुसारका छालाका जुत्ता छनोट गर्न सक्ने कम्पनीको भनाइ छ ।