सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा भने सुधार
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १५:२०
shares

काठमाडौं, ४ मंसिर । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सामान्य वृद्धि भएको बजार यस दिन भने ७.३८ अंकले ओरालो लागेको हो ।
शुक्रबार नेप्से परिसूचक ७.३८ अंक घटेको छ । त्यस्तै, फ्लोट इण्डेक्स ०.३१ अंकले घटेको छ भने सेन्सेटिभ इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुवै ०.०७ अंकले बढेका छन् ।
नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । अघिल्लो दिन बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
यस दिन ३५२ स्टकको ३९ हजार ९६६ पटकको कारोबारमा १ करोड ६ लाख २ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।
शुक्रबार दोल्ती पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ५.१४ प्रतिशत बढेको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । अन्य कम्पनीको सेयरमूल्य वृद्धि भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ ।
यस दिन मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाईमूल्य सर्वाधिक ८.५० प्रतिशत घटेको छ । त्यस्तै, पाल्पा सिमेन्ट इन्डस्ट्रीजको सेयरमूल्य साढे ६ प्रतिशतले ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २० करोड २२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको करिब १५ करोड रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ र म्युचुअल फण्ड उपसमूह सामान्य बढेका छन् । होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.३९ प्रतिशत घटेको छ ।

















