वैदेशिक रोजगार बोर्डले खुलायो श्रमिकका सन्ततिलाई छात्रवृत्ति, यस्तो छ आवेदन प्रक्रिया
वि.सं.२०८३ मंसिर ६ आइतवार १०:१८
shares

काठमाडौं, ६ मंसिर । वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग वा बिरामी भई वैदेशिक रोजगार कल्याणकारी कोषबाट शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका श्रमिकका सन्ततिका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयले छात्रवृत्ति आवेदन खुलाएको छ।
बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक योजना, कार्यक्रम तथा बजेटअनुसार शुक्रबार सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन माग गरेको हो।
सूचनाअनुसार नेपालका जुनसुकै सामुदायिक तथा संस्थागत विद्यालयमा पूर्वप्राथमिक तह (नर्सरी वा सोसरह) देखि कक्षा १२ सम्म अध्ययनरत १८ वर्षमुनिका बालबालिका छात्रवृत्तिका लागि योग्य हुनेछन्। तर, निवेदन दिने अन्तिम मितिसम्म श्रमिकका परिवारले कल्याणकारी कोषबाट शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेको हुनुपर्नेछ।
तहअनुसार १२ देखि १६ हजार रुपैयाँ छात्रवृत्ति
बोर्डका अनुसार आधारभूत तहमा अध्ययनरत विद्यार्थीले वार्षिक १२ हजार रुपैयाँ र माध्यमिक तहमा अध्ययनरत विद्यार्थीले वार्षिक १६ हजार रुपैयाँ छात्रवृत्ति पाउनेछन्।
छात्रवृत्तिबापतको रकम विद्यार्थी वा अभिभावकको चालु अवस्थामा रहेको बैंक खातामार्फत एकमुष्ट उपलब्ध गराइनेछ। एउटै कक्षामा एक पटक मात्र छात्रवृत्ति प्राप्त गर्न सकिनेछ। कक्षा दोहोरिएको अवस्थामा भने छात्रवृत्ति रकम उपलब्ध गराइने छैन।
आवश्यक कागजात पूर्ण रूपमा प्राप्त भएपछि सचिवालयले रकम भुक्तानी गर्ने जनाएको छ।
आवेदनका लागि आवश्यक कागजात
नियमित रूपमा छात्रवृत्ति प्राप्त गरिरहेका विद्यार्थीले छात्रवृत्तिका लागि निवेदन, श्रमिकको राहदानीको प्रतिलिपि, अध्ययनरत कक्षा खुल्ने गरी विद्यालयको सिफारिस, स्थानीय तहको सिफारिस र विद्यार्थी वा अभिभावकको चालु बैंक खाताको विवरण (चेकको प्रतिलिपि) पेस गर्नुपर्नेछ।
आर्थिक वर्ष २०८३/८४ मा पहिलोपटक आवेदन दिने विद्यार्थीले यी कागजातका अतिरिक्त थप प्रमाण पनि बुझाउनुपर्नेछ। मृतक श्रमिकका सन्ततिको हकमा मृत्युदर्ता प्रमाणपत्र तथा बिरामी वा अंगभंग भएका श्रमिकका सन्ततिको हकमा मान्यताप्राप्त चिकित्सकको प्रमाणपत्र आवश्यक पर्नेछ।
त्यस्तै, विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि र श्रमिक, अभिभावक तथा विद्यार्थीबीचको नाता खुल्ने नाता प्रमाणपत्रको प्रतिलिपि पनि पेस गर्नुपर्नेछ।
फागुन मसान्तसम्म आवेदन दिन सकिने
छात्रवृत्तिका लागि आवेदन दिने अन्तिम मिति २०८३ फागुन मसान्त तोकिएको छ। विद्यार्थी तथा अभिभावकले स्थानीय तहको रोजगार सेवा केन्द्रका रोजगार संयोजकसँग समन्वय गरी आवश्यक कागजात तयार गर्नुपर्नेछ।
तयार भएका कागजात फोरेन इम्प्लोयमेन्ट वेलफेयर इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (FEWIMS) मार्फत बोर्डको सचिवालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
स्थायी ठेगानाभन्दा बाहिर बसेर अध्ययन गरिरहेका विद्यार्थीले पनि आवेदन दिन सक्नेछन्। उनीहरूले नाता प्रमाणितलगायत वडा कार्यालयबाट बनाउनुपर्ने कागजात आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहबाट तयार गरी निवेदन दिन सक्नेछन्।
विद्यालयले योग्य विद्यार्थीको निवेदन ग्रहण गरी अध्ययनरत कक्षा खुलाएर सिफारिस गर्नुपर्नेछ। विद्यालयको सिफारिसका आधारमा स्थानीय तहले पनि फागुन मसान्तभित्र FEWIMS प्रणालीमा आवेदन प्रविष्ट गराइसक्नुपर्नेछ।
तोकिएको समयसीमाभित्र प्रणालीमा प्रविष्ट भएका आवेदनलाई मात्र छात्रवृत्तिका लागि मान्यता दिइने बोर्डको सचिवालयले जनाएको छ।
यससम्बन्धी थप जानकारीका लागि श्रमाधान कल सेन्टरको निःशुल्क नम्बर ११४१ वा वैदेशिक रोजगार बोर्डको सचिवालयको फोन नम्बर ०१-५३२०३११, ०१-५३२०४३३ र ०१-५३२०५६७ मा सम्पर्क गर्न सकिनेछ।

















