कृषि यान्त्रीकरण प्रदर्शनीमा दुई दिनमा २८ हजार ९७१ दर्शक
वि.सं.२०८३ मंसिर ६ आइतवार १०:३४
shares

काठमाडौं, ६ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा जारी आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ मा दुई दिनमा २८ हजार ९७१ जनाले अवलोकन गरेका छन्। आयोजकका अनुसार शनिबार दोस्रो दिन मात्रै १९ हजार ३०५ जना प्रदर्शनीस्थल पुगेका थिए।
शुक्रबारदेखि सुरु भएको प्रदर्शनीको पहिलो दिन ९ हजार ६६६ जनाले अवलोकन गरेका थिए। दोस्रो दिन दर्शकको संख्या पहिलो दिनको तुलनामा बढेको आयोजकले जनाएको छ।
प्रदर्शनीमा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका किसान, कृषि व्यवसायी तथा अन्य अवलोकनकर्ताको सहभागिता रहेको छ। काठमाडौं, भक्तपुर, ललितपुर, मुगु, बुटवल र चितवनलगायत स्थानबाट किसानहरू सहभागी भएको नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का केन्द्रीय सदस्य याम शर्माले जानकारी दिए।
प्रदर्शनीमा नेपाल, भारत, चीन तथा युरोपका विभिन्न मुलुकका कृषि उपकरण उत्पादक, वितरक र व्यवसायी सहभागी छन्। आयोजकका अनुसार प्रदर्शनीमा १४४ वटा स्टल राखिएका छन् भने ९२ जना प्रदर्शक सहभागी छन्।
प्रदर्शनीमा ट्र्याक्टर, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, कृषि ड्रोन, हरितगृह, थोपा सिँचाइ, मल्चिङ, कृषि प्रशोधन उपकरण, स्वचालित प्रविधि, कृत्रिम बौद्धिकता (एआई), शीतभण्डारण तथा पशुपन्छी र मत्स्यपालनसम्बन्धी उपकरण राखिएका छन्। त्यस्तै, बीउबिजन, मल, कृषि दाना, मौरीपालन र कफी खेतीसम्बन्धी सामग्री पनि प्रदर्शनीमा समावेश छन्।
नामियाका अध्यक्ष कृष्ण शर्माले स्वदेशमै कृषि उपकरण उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्। उनका अनुसार प्रदर्शनीमा नेपाली उत्पादन तथा प्रविधिका साथै विदेशी उपकरणबारे पनि जानकारी उपलब्ध गराइएको छ।

नामियाका महासचिव अर्जुनप्रसाद लुइँटेलले कृषि क्षेत्रमा श्रमिक अभावको समस्या बढ्दै गएको उल्लेख गर्दै कृषि यान्त्रीकरणले खेतीपातीमा लाग्ने श्रम र लागत घटाउन सहयोग गर्ने बताए।
नामियाका सचिव श्रीकृष्ण अधिकारीले नेपालको भौगोलिक अवस्था र किसानको आवश्यकताअनुसारका कृषि उपकरण प्रदर्शनीमा राखिएको जानकारी दिए।
स्वदेशी कृषि उपकरण उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष नेपाली उत्पादकलाई स्टल भाडामा ६० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ। ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अन्तर्गतका कम्पनीलाई उक्त छुट उपलब्ध गराइएको हो। राष्ट्रिय आविष्कार केन्द्रसहित १७ वटा स्वदेशी उत्पादक कम्पनीलाई निःशुल्क स्टल प्रदान गरिएको आयोजकको भनाइ छ। नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्य कम्पनीले स्टल भाडामा ५० प्रतिशत छुट पाएका छन्।
प्रदर्शनीका क्रममा नेपाल कृषि इन्जिनियर्स सोसाइटीसँगको सहकार्यमा कृषि यान्त्रीकरण, प्रविधि विकास, व्यावसायिक सहजीकरण तथा नीतिगत विषयमा छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेका छन्।

पहिलो दिन कृषि यान्त्रीकरणसम्बन्धी विषयमा देश तथा विदेशका छ जना विज्ञले प्रस्तुति दिएका थिए। दोस्रो दिन कृषि मेसिनरी खरिद तथा प्रयोग, खाद्य प्रशोधन, निर्यात र नेपालको भौगोलिक अवस्थाअनुसार कृषि यान्त्रीकरण नीतिका विषयमा छलफल गर्ने कार्यक्रम राखिएको थियो। तेस्रो दिन कृषि यान्त्रीकरण, युवा केन्द्रित कृषि प्रविधि, रूपान्तरण तथा नवप्रवर्तनसम्बन्धी प्रस्तुति र छलफल हुने आयोजकले जनाएको छ।
प्रदर्शनीमा सहभागी अवलोकनकर्ताका लागि दैनिक लक्की ड्रमार्फत ५० जनालाई पुरस्कार वितरण गर्ने व्यवस्था गरिएको छ। अन्तिम दिन एक जनालाई बम्पर पुरस्कारस्वरूप मिनी टिलर प्रदान गरिने आयोजकले जनाएको छ।
प्रदर्शनीको मुख्य आयोजक कृषि विभाग, राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ रहेका छन्। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल सहआयोजक छन्।
‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आयोजित प्रदर्शनी मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने कार्यक्रमअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ।

















