Dhulikhel Eco Banner new

निर्जीवन बीमकको अभिकर्ता कमिसन खर्च ३७ करोड नाघ्यो, ओरिएन्टल सबैभन्दा अगाडि

676
shares

काठमाडौं, ६ मंसिर । निर्जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिसन खर्च एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १४ वटा निर्जीवन बीमा कम्पनीले अभिकर्ता कमिसनमा कुल ३७ करोड १३ लाख रुपैयाँ खर्च गरेका छन् ।

कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो खर्च १८ करोड ५१ लाख रुपैयाँ रहेको थियो । यसरी अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा अभिकर्ता कमिसन खर्च १००.५८ प्रतिशतले बढेको देखिन्छ ।

अभिकर्ता कमिसनमा सबैभन्दा बढी खर्च गर्ने कम्पनीमा ओरिएन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ३२ लाख रुपैयाँ अभिकर्ता कमिसनबापत खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो खर्च २ करोड ७८ लाख रुपैयाँ रहेको थियो । यसअनुसार कम्पनीको अभिकर्ता कमिसन खर्च १९८.७३ प्रतिशतले बढेको हो ।

त्यस्तै, अभिकर्ता कमिसनमा दोस्रो धेरै खर्च गर्ने कम्पनी नेसनल इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म ४ करोड ५६ लाख रुपैयाँ यस्तो खर्च गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको अभिकर्ता कमिसन खर्च १० लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

तेस्रो धेरै खर्च गर्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले समीक्षा अवधिमा ३ करोड ८९ लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको यस्तो खर्च २ करोड २७ लाख रुपैयाँ रहेको थियो । यसअनुसार कम्पनीको अभिकर्ता कमिसन खर्च ७१.१४ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुईवटा कम्पनीको अभिकर्ता कमिसन खर्च भने घटेको छ । शिखर इन्स्योरेन्सको यस्तो खर्च ७.२८ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.७५ प्रतिशतले घटेको देखिएको छ ।

यता, सबैभन्दा कम अभिकर्ता कमिसन खर्च गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म १६ लाख ५१ हजार रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ ।

समग्रमा निर्जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिसन खर्चमा उल्लेख्य वृद्धि देखिएको छ । विशेषगरी ओरिएन्टल इन्स्योरेन्सको खर्च रकम र वृद्धिदर दुवै उच्च रहेको छ ।