ओम मेगाश्री फर्मास्युटिकल्सको ११औँ साधारणसभा मंसिर २६ गते, बुक क्लोज कहिले ?
वि.सं.२०८३ मंसिर ६ आइतवार ११:२८
shares

काठमाडौं, ६ मंसिर । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आफ्नो ११औँ वार्षिक साधारणसभा मंसिर २६ गते शुक्रबार बोलाएको छ । कम्पनीको औद्योगिक परिसर, जुगेडी, भरतपुर महानगरपालिका–२९, चितवनमा बिहान ९ः१५ बजे सभा बस्ने कम्पनीले जनाएको छ ।
साधारणसभामा कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव पेस हुनेछ ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । कम्पनीको सार्वजनिक सेयरधनी समूहबाट चार जना सञ्चालक निर्वाचित गर्ने प्रस्तावसमेत रहेको छ ।
सभामा अधिग्रहणसम्बन्धी अन्तिम समझदारीपत्र (एमओयू), अधिग्रहण योजना, व्यावसायिक योजना तथा सम्बन्धित कागजातहरू स्वीकृत गर्ने प्रस्ताव पनि पेस हुनेछ ।
यसैगरी, स्वीकृत सेयर स्वाप अनुपातका आधारमा रोयल फर्मास्युटिकल्सका सेयरधनीलाई ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर जारी तथा बाँडफाँट गर्ने प्रस्ताव पारित गरिनेछ ।
अधिग्रहणपछि आवश्यक भएमा कम्पनीको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, सेयर स्वामित्व संरचना तथा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाको कार्यसूचीमा समावेश गरिएको छ ।
मंसिर १५ गते बुक क्लोज
कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर १४ गतेसम्म कम्पनीको सेयरधनी कायम रहेका लगानीकर्ताले मात्र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

















