Dhulikhel Eco Banner new

दशौँ राष्ट्रिय खेलकुदका ३२ खेलको खेलस्थल तय, सुर्खेतमा २२ विधाका प्रतिस्पर्धा हुने

559
shares

काठमाडौं, ६ मंसिर । आगामी मंसिर १६ देखि २७ गतेसम्म (डिसेम्बर २ देखि १३ सम्म) आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ खेलको खेलस्थल निर्धारण गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले आज सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताका अधिकांश खेल कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन हुनेछन् ।

परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार सुर्खेतमा एथलेटिक्स, पुरुष तथा महिला क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपाकताक्रो, हक्की, भलिबल र कबड्डी प्रतियोगिता सञ्चालन हुनेछन् ।

त्यसैगरी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस, वुशु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारोत्तोलन, साइक्लिङ र ई–स्पोर्ट्सका प्रतिस्पर्धा पनि सुर्खेतका विभिन्न खेलस्थलमा हुनेछन् ।

टेनिस तथा महिला र पुरुष खो–खो प्रतियोगिता बर्दियामा सञ्चालन हुनेछन् भने पौडी र सुटिङ नेपालगञ्जमा आयोजना हुनेछन् । जुडो र कुस्ती सल्यानमा, आईटीएफ तेक्वान्दो दैलेखमा, महिला तथा पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल जुम्लामा, चेस कालिकोटमा र बडिबिल्डिङ पश्चिम रुकुममा सञ्चालन हुने सदस्यसचिव मेहताले जानकारी दिए ।

उनका अनुसार सुर्खेतमा २२, सल्यानमा दुई तथा जुम्ला, कालिकोट, दैलेख र पश्चिम रुकुममा एक–एक विधाका प्रतियोगिता आयोजना हुनेछन् । बाँके र बर्दियामा भने दुई–दुई विधाका खेल सञ्चालन हुनेछन् ।

प्रतियोगितामा ६ हजार खेलाडीसहित करिब ९ हजार जनाको सहभागिता रहने आयोजकको अनुमान छ । सहभागीमध्ये ३ हजार जना अफिसियल रहनेछन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । प्रतियोगिता व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न मुख्य आयोजक समितिसहित १४ वटा समिति गठन गरिएको उनले जानकारी दिए ।