Dhulikhel Eco Banner new

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन प्रधानमन्त्री बालेन शाहको आग्रह

806
shares

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री बालेन शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन कर्णालीवासीलाई साथ र सहयोग गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करण पहिलोपटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको उल्लेख गरेका छन् ।

उनका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ भने मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन् । प्रतियोगितामा राष्ट्रिय स्तरका ८ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारीहरूको सहभागिता रहनेछ ।

प्रधानमन्त्री शाहले प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै खेल पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

खेलकुदका माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउनसमेत प्रतियोगिता महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

उनले प्रतियोगितालाई सफल बनाउन नागरिकस्तरबाटै साथ र समर्थन गर्न कर्णालीवासीलाई आग्रह गरेका छन् ।

हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका हालसम्म नौवटा संस्करण मात्र आयोजना हुनु दुःखद भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले आगामी दिनमा प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्न र यसको स्तर अभिवृद्धि गर्न सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भावलाई थप मजबुत बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उनले प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामनासमेत दिएका छन् ।