नेपालमै बनेको थियो १३ लाखको ‘हुलास मुस्ताङ’ जीप, किन बन्द भयो उत्पादन ?
वि.सं.२०८३ मंसिर ६ आइतवार ११:५७
shares

काठमाडौं, ६ मंसिर । नेपालमा कुनै समय आफ्नै देशमा एसेम्बल गरिएको डिजेल जीप उत्पादन हुन्थ्यो । हुलास मोटर्सले नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर डिजाइन गरेको ‘हुलास मुस्ताङ’ जीप नेपाली अटोमोबाइल उत्पादन इतिहासको एउटा महत्त्वपूर्ण प्रयास थियो ।
हुलास मुस्ताङको भी–२ मोडलको मूल्य १३ लाख रुपैयाँभन्दा केही बढी थियो । एकपटकमा १३ जनासम्म यात्रु बोक्न सक्ने क्षमताको यो जीप विशेषगरी नेपालको पहाडी तथा दुर्गम क्षेत्रमा लोकप्रिय बनेको थियो ।
सन् २०११ मा हुलास मोटर्सले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईका लागि वातानुकूलित सुविधासहितको परिष्कृत संस्करण ‘मुस्ताङ म्याक्स’ तयार गरेको थियो । प्रधानमन्त्री भट्टराईले आयातित एसयूभीको सट्टा यही गाडीलाई आफ्नो सरकारी सवारीसाधनका रूपमा रोजेका थिए ।
तर, नेपालमा युरो–३ उत्सर्जन मापदण्ड कडाइका साथ लागू भएपछि कम्पनीले मुस्ताङ जीपको उत्पादन निरन्तरता दिन सकेन ।
उपलब्ध विवरणअनुसार सन् २०१४ अक्टोबरमा यसको उत्पादन बन्द भएको थियो । कम्पनीले भने सन् २०१५ जनवरीमा औपचारिक रूपमा उत्पादन बन्द गर्ने निर्णय सार्वजनिक गरेको थियो ।
यससँगै नेपाली सडक र आवश्यकतालाई लक्षित गरी आफ्नै देशमा सवारीसाधन उत्पादन गर्ने एउटा महत्त्वाकांक्षी प्रयासको अन्त्य भएको थियो ।

















