हरि र हर मिलनको पर्व वैकुण्ठ चतुर्दशी आज मनाइँदै, भीष्मपञ्चक सुरु
वि.सं.२०८३ मंसिर ७ सोमवार ०८:३१
260
shares
shares

काठमाडौँ — प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज देशभर स्नान, दान, जप र ध्यान गरी मनाइँदै छ। धार्मिक मान्यताअनुसार आजको दिन नदीमा स्नान गरी भगवान् विष्णु र शिवको आराधना गर्नाले विशेष पुण्य प्राप्त हुने विश्वास गरिन्छ।
हरिशयनी एकादशीमा क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णुले सुम्पेको सृष्टि सञ्चालनको कार्यभार आजकै दिन भगवान् शिवले फिर्ता गरी कैलाश फर्कने पौराणिक विश्वास छ। यसैकारण आजको दिनलाई ‘हरि र हर मिलन’ को विशेष उत्सवका रूपमा लिइन्छ। विष्णुको पूजा गरी रातभर जाग्राम बस्ने परम्परा रहेको यो दिन शिवपूजाका लागि अरुणोदय र व्रतका लागि अहोरात्र चतुर्दशी उत्तम मानिन्छ।
महाभारतको शान्तिपर्वमा उल्लेख भएअनुसार भीष्मपितामहले युधिष्ठिरलगायत पाँच पाण्डवलाई विष्णु स्तुतिको महिमा सुनाएको समय भएकाले आजैदेखि भीष्मपञ्चक व्रतसमेत सुरु भएको छ। आजको दिन बूढानीलकण्ठ, विष्णुपादुका, गण्डकी तथा दामोदर कुण्डलगायतका तीर्थस्थलमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ।
धर्मशास्त्रविद् पण्डित बालमुकुन्द देवकोटाका अनुसार सृष्टिको पालनकर्ताका रूपमा स्थापित भगवान् विष्णु आजकै दिन वैकुण्ठधाम प्रस्थान गर्नुभएको हो। पूजाआजा गर्न नसके पनि आज विष्णुका सहस्रनाम उच्चारण मात्र गर्नाले सम्पूर्ण दुःख र आपत्विपत्बाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।

















