प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै, तल्लो अरुणको शिलान्यास गरिने
वि.सं.२०८३ मंसिर ७ सोमवार ०८:१५
273
shares
shares

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दै छन् । भ्रमणको दोस्रो तथा अन्तिम दिन सोमबार बिहान ११ बजे नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई नेताबीच भेट हुने तय भएको हो ।
वार्ताका क्रममा द्विपक्षीय हितका विविध विषयसँगै नयाँ हवाई रुटका सन्दर्भमा ठोस सहमति जुट्ने प्रधानमन्त्री शाहले विश्वास लिएका छन् । भेटवार्तापछि दुवै प्रधानमन्त्रीले दिल्लीबाटै संयुक्त रूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गर्नेछन् । मध्याह्न १२ः२५ बजे दुई देशबीच समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त पत्रकार सम्मेलन आयोजना गरिनेछ ।
त्यसअघि बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ सहित औपचारिक स्वागत गरिने कार्यक्रम छ । स्वागतलगत्तै बिहान १०ः४० बजे उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गर्नेछन् ।
अपरान्ह ३ः१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यतालिका छ । यसअघि भ्रमणको पहिलो दिन आइतबार साँझ भारतीय विदेशमन्त्री एस. जयशंकरले होटल ताजमहलमा प्रधानमन्त्री शाहसँग भेट गरी कनेक्टिभिटी, ऊर्जा, व्यापार तथा पारवहन लगायतका क्षेत्रमा सहकार्य विस्तारबारे छलफल गरेका थिए ।
सबै औपचारिक भेटघाट सकेर प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आजै अपरान्ह ४ः५० बजे स्वदेश फर्किने कार्यक्रम छ ।

















