Dhulikhel Eco Banner new

२८ वर्ष पूरा गर्दै मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, २ करोड १२ लाखभन्दा बढीले लिए सेवा

624
shares

काठमाडौं, ७ मंसिर । नेपालको पहिलो केबलकारका रूपमा परिचित मनकामना केबलकारले सञ्चालनको २८ वर्ष पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । चितवन को–इ समूह (Chitawon Co-E Group) अन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले मंसिर ८ गते आफ्नो २८औँ वार्षिकोत्सव मनाएको हो ।

कम्पनीका अनुसार हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुलाई केबलकार सेवा प्रदान गरिसकेको छ ।

समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको मनकामना केबलकारले नेपालको पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा अग्रणी उद्यमका रूपमा आफूलाई स्थापित गरेको कम्पनीले जनाएको छ ।

२८औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले स्वर्गीय संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले देखाउनुभएको मार्गनिर्देशन र दूरदृष्टिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहकप्रति कम्पनीले आभार व्यक्त गरेको छ । साथै, कम्पनीलाई यो उचाइसम्म पुर्‍याउन अहोरात्र खटिने कर्मचारीहरूको निष्ठा र समर्पणप्रति धन्यवाद दिएको छ ।

पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदार, सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति पनि कम्पनीले कृतज्ञता व्यक्त गरेको छ ।

आगामी दिनमा यात्रुहरूलाई अझ उत्कृष्ट सेवा र स्तरीय अनुभव प्रदान गर्न कम्पनी सदैव प्रतिबद्ध रहने जनाएको छ ।