Dhulikhel Eco Banner new

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री शाह र मोदीद्वारा संयुक्त उद्घाटन

468
shares

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । आज नयाँदिल्लीबाट भर्चुअल माध्यममार्फत दुवै देशका प्रधानमन्त्रीले आयोजनाको उद्घाटन गरेका हुन् ।

संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने यस आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले नेपाल लगानी बोर्डसँगको सहकार्यमा निर्माण गर्न लागेको आयोजना ‘बिल्ड, ओन, अपरेट एन्ड ट्रान्सफर’ (बुट) मोडलमा विकास गरिनेछ ।

आयोजनाको निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादित कुल विद्युत्मध्ये २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ ।

तल्लो अरुण आयोजनामा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट निस्कने पानी प्रयोग गरी विद्युत् उत्पादन गरिनेछ । त्यसका लागि १७.३ किलोमिटर लामो सुरुङमार्फत पानी आयोजनाको विद्युत् गृहसम्म पुर्‍याइनेछ ।

आयोजनाले २५ वर्षसम्म व्यावसायिक उत्पादन गरेपछि सञ्चालन अवस्थामै नेपाल सरकारलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।

आयोजना सम्पन्न भएपछि नेपालको विद्युत् उत्पादन क्षमता वृद्धि हुनुका साथै ऊर्जा क्षेत्रको विकास, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।