Dhulikhel Eco Banner new

४ हजारभन्दा बढीले अवलोकन गरे नास–आईटी एक्स्पो, ३१ कम्पनीका स्टलमा प्रविधि तथा सेवा प्रदर्शन

1.94K
shares

काठमाडौं, ७ मंसिर । नेपालमा विकास भइरहेका सूचना प्रविधिसम्बन्धी उत्पादन, सेवा तथा व्यावसायिक सम्भावनाबारे जानकारी गराउने उद्देश्यले नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले आयोजना गरेको दोस्रो संस्करणको ‘नास–आईटी एक्स्पो’ सम्पन्न भएको छ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार र आइतबार आयोजित एक्स्पोमा आयोजकका अनुसार सातवटा प्रविधि तथा सेवा क्षेत्रका ३१ वटा स्टल राखिएका थिए। एक्स्पो अवधिमा ४ हजारभन्दा बढीले अवलोकन गरेको नास–आईटीले जनाएको छ।

एक्स्पोमा विद्यार्थीका साथै बैंकिङ क्षेत्र, कर्पोरेट निकाय तथा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रदर्शनीमा सहभागी कम्पनीहरूले आफ्ना सफ्टवेयर, डिजिटल सेवा तथा प्रविधिमा आधारित उत्पादनबारे जानकारी दिएका थिए।

कार्यक्रममा सभामुख डीपी अर्याल, राजनीतिज्ञ सुमना श्रेष्ठलगायत सरकारी तथा नीतिगत क्षेत्रका प्रतिनिधिहरूले पनि अवलोकन गरेका थिए।

एक्स्पोअन्तर्गत नेपालको सूचना प्रविधि उद्योगको अवस्था, डिजिटल रूपान्तरण, स्वदेशी प्रविधिको प्रयोग तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली कम्पनीको पहुँचसम्बन्धी विषयमा प्यानल छलफल आयोजना गरिएको थियो।

दोस्रो दिन ‘सेलेक्ट यूएसए’ र ‘बिल्डिङ फ्रम विथ इन स्ट्रेन्थेनिङ नेपाल्स डिजिटल इकोनोमी एन्ड टेक इकोसिस्टम’ शीर्षकमा दुईवटा छलफल सत्र सञ्चालन भएका थिए। दुवै सत्रमा नेपाली प्रविधि कम्पनीको अन्तर्राष्ट्रिय बजार प्रवेश, स्वदेशी उत्पादनको व्यावसायिक प्रयोग तथा प्रविधि उद्यमबीच सहकार्यका विषयमा छलफल भएको थियो।

अमेरिकी बजारमा नेपाली सूचना प्रविधि कम्पनीको विस्तार तथा व्यावसायिक साझेदारीका अवसरबारे आयोजित ‘सेलेक्ट यूएसए’ सत्रमा अमेरिकी दूतावासकी राजनीतिक तथा आर्थिक प्रमुख केट लिही, स्विफ्टफिन ग्लोबल कन्सल्टिङका प्रमुख कार्यकारी अधिकृत सितेश भट्टराई र यल्लो नेपालका प्रमुख कार्यकारी अधिकृत अनिश श्रेष्ठ सहभागी थिए। उक्त सत्रको सहजीकरण अमिरराज थापाले गरेका थिए।

छलफलमा अमेरिकी बजारमा नेपाली कम्पनीको व्यावसायिक पहुँच, सम्भावित साझेदारी तथा बजार विस्तारका विषयमा विचार आदानप्रदान गरिएको थियो।

त्यसैगरी, नेपालको डिजिटल अर्थतन्त्र तथा प्रविधि इकोसिस्टमको विकाससम्बन्धी सत्रमा नेपाली प्रविधि उद्यमीहरूले आफ्ना उत्पादन, प्रविधि विकास र व्यावसायिक अनुभव प्रस्तुत गरेका थिए।

एक्स्पो संयोजक प्रार्थना साखःले सहजीकरण गरेको उक्त सत्रमा आकाश टेकका संस्थापक तथा प्रबन्ध निर्देशक बृजेशप्रसाद गुप्ता, र्‍यापिडका प्रमुख कार्यकारी अधिकृत आशुतोष साह, एड्रेसग्राफ नेपाल (कताहो) का संस्थापक तथा सल्लाहकार लक्ष्मणप्रसाद रिमाल र थर्ड फ्याक्टर एआईका प्रमुख व्यवसाय अधिकृत सोजन प्रजापति सहभागी थिए।

आकाश टेकका गुप्ताले सन् २००८ देखि सुरु भएको कम्पनीको प्रविधि विकास यात्राबारे जानकारी दिँदै कृत्रिम बुद्धिमत्तामा आधारित संवाद प्रणाली निर्माण गरिएको बताए। उनका अनुसार उक्त प्रणालीले पाठ तथा आवाजमा आधारित ग्राहक संवादलाई एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्न सक्छ। फोन, ह्वाट्सएप, फेसबुक र टेलिग्रामलगायत माध्यमबाट प्राप्त संवाद व्यवस्थापन गर्नुका साथै भेटघाटको समय निर्धारण र व्यावसायिक प्रस्ताव तयार गरी पठाउने सुविधा पनि यसमा समावेश गरिएको छ।

गुप्ताले उक्त प्रविधि अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजनाअन्तर्गत आगामी जनवरी १५ मा भारतमा आकाशटेल सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए।

र्‍यापिडका प्रमुख कार्यकारी अधिकृत साहले बैंकिङ प्रणाली र व्यावसायिक लेखा सफ्टवेयरबीच एकीकरण गर्ने प्रविधिबारे प्रस्तुति दिएका थिए। उनले युरोपको पीएसडी–२ संरचना तथा आईएसओ २००२२ मापदण्डमा आधारित प्रणालीमार्फत खाताको मौज्दात, भुक्तानी र हिसाब मिलानजस्ता वित्तीय गतिविधि स्वचालित गर्न सकिने बताए। उनका अनुसार यस्तो प्रणालीले व्यावसायिक वित्तीय कारोबार व्यवस्थापनमा सहयोग पुर्‍याउन सक्छ।

एड्रेसग्राफ नेपालका रिमालले स्थानीय आवश्यकता सम्बोधन गर्न स्वदेशमै प्रविधि तथा उत्पादन विकास गर्नुपर्ने विषय उठाएका थिए। उनले आफ्नो २८ वर्षको प्रविधि विकास यात्रामा सयभन्दा बढी उत्पादन निर्माण गरिएको जानकारी दिँदै नेपालमा विकसित विद्युतीय मतदान उपकरणले पेटेन्ट अधिकार प्राप्त गरेको बताए।

उनले सात वर्षको अनुसन्धानपछि विकास गरिएको ‘कताहो’ डिजिटल ठेगाना प्रणालीबारे पनि जानकारी दिएका थिए। उनका अनुसार उक्त प्रणालीबाट तीन सेकेन्डमै स्थानसम्बन्धी विवरण साझेदारी गर्न सकिन्छ।

थर्ड फ्याक्टर एआईका प्रजापतिले डिजिटल कारोबार बढ्दै गए पनि बैंक खाता खोल्ने, बीमा दाबी गर्ने र पहिचान प्रमाणीकरण गर्ने प्रक्रियामा अझै भौतिक उपस्थितिको आवश्यकता रहेको विषय उठाएका थिए। उनले डिजिटल पहिचान प्रमाणीकरण प्रविधिले बैंकिङ, बीमा तथा अन्य डिजिटल सेवामा प्रयोगकर्ताको भौतिक उपस्थितिमा निर्भरता कम गर्न सक्ने बताए।

‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना गरिएको यस वर्षको एक्स्पोमा साइबर सुरक्षा तथा डिजिटल विश्वास, वित्तीय प्रविधि तथा बैंकिङ, व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता तथा स्वचालन, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास क्षेत्रका कम्पनी सहभागी थिए।

यस संस्करणमा पहिलोपटक युरोपेली संघको सहयोगमा स्टार्टअप प्याभिलियनसमेत स्थापना गरिएको थियो। उक्त प्याभिलियनमा ब्ल्याकफायर एआई, साइबर अलर्ट नेपाल, मेडीनेप्स, बुकयोरकाउन्सेलिङ, गोर्खा साइबर फोर्स र मिरागोलगायत स्टार्टअपले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गरेका थिए।

एक्स्पोको मुख्य उद्देश्य नेपाली प्रविधि कम्पनीलाई स्वदेशी खरिदकर्ता, सरकारी निकाय, लगानीकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारसँग जोड्नु रहेको आयोजकले जनाएको छ। साथै, प्रविधिमा आधारित रोजगारी तथा उद्यमशीलताका अवसरबारे जानकारी गराउने उद्देश्य पनि राखिएको थियो।

नास–आईटीले सन् २०२५ मा पहिलो संस्करणको एक्स्पो आयोजना गरेको थियो। आयोजकका अनुसार पहिलो संस्करणमा २ हजार ५०० भन्दा बढी अवलोकनकर्ता र ३० भन्दा बढी कम्पनी सहभागी भएका थिए। दोस्रो संस्करणमा प्रदर्शनीका अतिरिक्त स्टार्टअप प्याभिलियन, पिच सत्र तथा प्यानल छलफल समावेश गरिएको थियो।

एक्स्पोमा आकाशटेल मुख्य प्रायोजकका रूपमा सहभागी थियो। अम्निल टेक्नोलोजिज, एकबाना, ग्लोबल आईएमई बैंक र थर्ड फ्याक्टर एआई सहप्रायोजक थिए। डिशहोम इन्टरनेट साझेदार तथा किङ्स कलेज, एआरसी र बिजक सहयोगी संस्थाका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा जापान, दक्षिण कोरिया, बेलायत र स्विट्जरल्याण्डलगायत देशका राजदूतहरूले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गरेका थिए। उनीहरूले सन्देशमा आपसी साझेदारी तथा सहकार्यको महत्त्व उल्लेख गरेका थिए।

यसअघि सम्पन्न सत्रमा स्विट्जरल्याण्ड र बेलायतलगायत मित्रराष्ट्रका राजदूत तथा कूटनीतिक प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको आयोजकले जनाएको छ।