नागढुंगा सुरुङमार्गको एन–ट्याग अब सानिमा बैंकबाटै लिन सकिने
वि.सं.२०८३ मंसिर ७ सोमवार ११:३८
shares

काठमाडौं, ७ मंसिर । नागढुंगा सुरुङमार्ग प्रवेशका लागि आवश्यक पर्ने एन–ट्याग (N-Tag) अब सानिमा बैंक लिमिटेडबाटै लिन सकिने भएको छ । बैंकले देशभरका आफ्ना शाखामार्फत एन–ट्याग उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ ।
नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी (RFID) प्रविधिमा आधारित एन–ट्याग सानिमा बैंक तथा देशभर फैलिएका यसका शाखाबाट सहजै लिन सकिने बैंकले जनाएको छ ।
सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल संकलन (Electronic Toll Collection) प्रणाली लागू गरिएको छ । सवारीसाधनको अगाडिको सिसामा टाँसिने एन–ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको यन्त्रले स्वतः पहिचान गर्ने र टोल रकम सम्बन्धित ट्यागबाटै काटिने व्यवस्था गरिएको छ । यसले गर्दा सवारीसाधन रोकिनु नपर्ने, नगदरहित र छिटो यात्राको अनुभव पाउन सकिने बैंकले जनाएको छ ।
सर्वसाधारणले बैंकका जुनसुकै शाखामा गई एन–ट्याग लिन सक्नेछन् । एन–ट्यागमा ईसेवा, फोनपे हब तथा बैंकको मोबाइल बैंकिङ सेवाबाट रिचार्ज गर्न सकिने व्यवस्था रहेको छ । बैंकले यो सेवा काठमाडौं उपत्यकामा मात्र नभई देशभरका शाखा सञ्जालमार्फत उपलब्ध गराएको जनाएको छ ।
बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु बैंकका लागि गौरवको विषय भएको बताएका छन् ।
उनले भनेका छन्, “नागढुंगा सुरुङमार्गजस्तो राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु हामीलाई गौरवको विषय हो । आफ्नो फराकिलो शाखा सञ्जालमार्फत सर्वसाधारणसम्म यो सेवा पुर्याउन सानिमा बैंक प्रतिबद्ध छ ।”
एन–ट्याग तथा यससम्बन्धी थप जानकारीका लागि नजिकैको सानिमा बैंक शाखा, बैंकको ग्राहक सेवा वा बैंकले उपलब्ध गराएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

















