नेप्सेमा सामान्य सुधार, कारोबार रकम ३ अर्ब ८२ करोडमा सीमित
वि.सं.२०८३ मंसिर ७ सोमवार १५:१२
shares

काठमाडौं, ७ मंसिर । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार घटेको बजार यस दिन २.२६ अंकले बढेर बन्द भएको हो ।
सोमबार नेप्से परिसूचक २६२३.५६ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.५१ अंकले बढेको छ । त्यस्तै, फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले उकालो लागेको छ ।
परिसूचकमा सामान्य वृद्धि भए पनि बजारको कारोबार रकम भने घटेको छ । शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा सोमबार ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ ।
यस दिन ३६० वटा स्टकको ४२ हजार ८५४ पटकको कारोबारमा १ करोड ८ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् ।
मेन्छियाम हाइड्रोपावरको शेयरमूल्यमा सबैभन्दा बढी वृद्धि
सोमबार कारोबारमा आएका कम्पनीमध्ये मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १०.५८ प्रतिशतले बढेको छ । माउन्टेन हाइड्रोको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी र बुंगल हाइड्रोको करिब साढे ५ प्रतिशतले वृद्धि भएको छ ।
यता, भिजन लुम्बिनी ऊर्जा कम्पनीको शेयरमूल्य सर्वाधिक ८.३३ प्रतिशतले घटेको छ ।
ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ । बैंकको १५ करोड ९३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकको करिब १३ करोड रुपैयाँ र एनआईसी एसिया बैंकको साढे १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
१३ मध्ये ९ उपसमूह घटे
नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये सोमबार चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूह घटेका छन् ।
यस दिन बैंकिङ, विकास बैंक, लगानी र अन्य उपसमूह सामान्य अंकले बढेका छन् । यता, निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशतले घटेको छ ।

















