Dhulikhel Eco Banner new

सरकारले पुराना कानून खारेज र तीन ऐन संशोधन गर्ने प्रस्ताव अघि बढायो

1.52K
shares

काठमाडौं, ७ मंसिर । सरकारले आर्थिक सुधारका लागि पुराना तथा असान्दर्भिक कानून खारेज र केही विद्यमान ऐन संशोधन गर्ने प्रस्ताव अघि बढाएको छ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सोमबार प्रतिनिधिसभाको अर्थ समितिमा ‘अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ बारे जानकारी दिँदै आर्थिक गतिविधिमा अवरोध पुर्‍याउने र व्यवसायको लागत बढाउने कानुनी व्यवस्था पुनरावलोकन गर्न प्रस्ताव गरिएको बताइन्।

उनका अनुसार उच्चस्तरीय आर्थिक सुझाव आयोगको ‘आर्थिक सुधारको मार्गचित्र, २०८१’ तथा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यका आधारमा कानून संशोधन र खारेजीको प्रक्रिया अघि बढाइएको हो।

विधेयकमा प्रादेशिक विकास आयोजना कार्यान्वयन गर्ने ऐन, २०७३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, हवाई टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ लगायत कानून खारेज गर्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी, मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०८२ संशोधन गर्ने प्रस्ताव पनि विधेयकमा समेटिएको छ।

प्रस्तावित व्यवस्थाअनुसार व्यावसायिक मालसामान ढुवानीको विवरण अनलाइन प्रणालीमा प्रविष्ट तथा अद्यावधिक गर्नुपर्नेछ। ढुवानीका साधनमा जीपीएस जडान गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। यसको उल्लंघन गरेमा पहिलो पटक ५० हजार रुपैयाँसम्म र त्यसपछिका प्रत्येक पटक एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था विधेयकमा राखिएको मन्त्री गौतमले जानकारी दिइन्।

आयकर ऐन संशोधनमार्फत गैरकर राजस्व नतिरेको विषयमा नेपाल सरकारको निर्देशनअनुसार महानिर्देशकले छानबिन तथा अनुसन्धान गर्न सक्ने प्रस्ताव गरिएको छ। अनुसन्धानबाट थप गैरकर दायित्व निर्धारण भएमा त्यसको शतप्रतिशत जरिवाना असुल गर्न सकिने तथा निर्णयविरुद्ध प्रशासकीय पुनरावलोकन गर्न सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

भन्सार ऐन संशोधनमार्फत जाँचपास भइसकेका वस्तुको पुनः जाँच, अनुसन्धान तथा कारबाही गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ। साथै, भन्सार जाँच परीक्षण कार्यालयलाई चोरी निकासी तथा पैठारी नियन्त्रणका लागि चेकजाँच र अनुसन्धान गर्ने अधिकार प्रदान गर्ने प्रस्ताव गरिएको छ।

राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन खारेज भएपछि राजस्व अनुसन्धान विभागमा रहेका उजुरी सम्बन्धित निकायमा हस्तान्तरण गर्ने व्यवस्था पनि विधेयकमा समावेश गरिएको छ। आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर तथा गैरकरसम्बन्धी उजुरी आन्तरिक राजस्व विभागमा र चोरी निकासी तथा पैठारीसम्बन्धी उजुरी भन्सार विभागमा हस्तान्तरण गर्ने प्रस्ताव गरिएको छ। विदेशी विनिमयसम्बन्धी कसुरका उजुरी भने सम्बन्धित अनुसन्धान अधिकारीलाई हस्तान्तरण गरिनेछ।

मन्त्री गौतमका अनुसार प्रस्तावित संशोधन तथा खारेजीको उद्देश्य विद्यमान कानुनी जटिलता पुनरावलोकन गर्नु र आर्थिक गतिविधिसँग सम्बन्धित प्रशासनिक प्रक्रिया व्यवस्थित गर्नु रहेको छ।

विधेयक प्रतिनिधिसभाको अर्थ समितिमा छलफलका क्रममा रहेको छ। प्रस्तावित व्यवस्था कार्यान्वयनमा आउन विधायी प्रक्रिया पूरा हुनुपर्नेछ।