Dhulikhel Eco Banner new

ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न

975
shares

काठमाडौं, ७ मंसिर । ऐतिहासिक वास्तुकला, परम्परागत शिल्पकला र आधुनिक निर्माण प्रविधिबीचको सम्बन्धबारे छलफल गर्दै अन्तर्राष्ट्रिय वास्तुकला सम्मेलन ‘पाथफाइन्डर सिम्पोजियम २०२६’ सम्पन्न भएको छ । ललितपुरको पुल्चोकमा भएको कार्यक्रममा स्पेन, भारत र इटालीका साथै नेपालका आर्किटेक्ट तथा प्रविधि विशेषज्ञहरूले आफ्ना अनुभव साझा गरेका थिए ।

‘एक्सप्लोरिङ आइडियाज, इन्स्पायरिङ डिजाइन’ मूल नारासहित आयोजित सम्मेलनमा ऐतिहासिक सम्पदाको मौलिकता जोगाउने उपाय, निर्माण सामग्रीमा भएका नयाँ प्रयोग र आधुनिक प्रविधिले डिजाइनमा ल्याएका परिवर्तनबारे चर्चा भएको थियो । कार्यक्रममा नेपालका आर्किटेक्ट, इन्टेरियर डिजाइनर, प्राज्ञिक क्षेत्र तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो ।

भिक्ट्रिफाइड टायल ब्राण्ड लामिनारको आयोजनामा सम्पन्न कार्यक्रमका मुख्य वक्ता स्पेनका आर्किटेक्ट पाउ मिलेट लोपेजले बार्सिलोनास्थित विश्वप्रसिद्ध साग्रादा फामिलिया चर्चको निर्माणमा हासिल गरेको अनुभव सुनाए । चर्चको प्राविधिक कार्यालयमा प्रमुख आर्किटेक्टका रूपमा पाँच वर्ष काम गरेका उनी छवटा केन्द्रीय टावरको डिजाइन तथा निर्माण व्यवस्थापनमा संलग्न थिए । उनले ऐतिहासिक परिकल्पनालाई कायम राख्दै आधुनिक इन्जिनियरिङ र निर्माण विधि अपनाउनु जटिल तर महत्त्वपूर्ण काम भएको बताए ।

सन् १८८२ मा निर्माण सुरु भएको साग्रादा फामिलियालाई एन्टोनी गौडीले विशिष्ट स्वरूप दिएका थिए । गौडीको सन् १९२६ मा निधन भए पनि उनको परिकल्पनाअनुसार निर्माण अघि बढिरहेको छ । लोपेजले गौडीले प्रकृतिका आकार र संरचनाबाट प्रेरणा लिएको उल्लेख गर्दै नयाँ सिर्जना गर्दा इतिहास र मौलिक पहिचानलाई बिर्सन नहुनेमा जोड दिए । साग्रादा फामिलिया कुनै एक व्यक्तिको उपलब्धि मात्र नभई धेरै पुस्ताका आर्किटेक्ट, इन्जिनियर र निर्माणकर्मीको साझा प्रयास भएको उनको भनाइ थियो ।

गौडीको निधनको सय वर्ष पुगेको सन् २०२६ मा चर्चको सबैभन्दा अग्लो टावरको बाहिरी संरचना पूरा भएको विषय पनि कार्यक्रममा उठाइएको थियो । लामो समयदेखि चलिरहेको यस निर्माणले पुस्तौँसम्म एउटै लक्ष्यमा काम गर्ने प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेको लोपेजले बताए । उनले समय, स्रोत र निर्माण प्रविधिका चुनौतीबीच पनि परियोजनाको मूल उद्देश्यलाई केन्द्रमा राखेर निर्णय गरिएको अनुभव सुनाए ।

लोपेजले गौडीले प्रयोग गरेका प्लास्टरका नमुना र ज्यामितीय अध्ययनले पुरानो डिजाइन बुझ्न तथा त्यसलाई आधुनिक प्रविधिसँग जोड्न सहयोग गरेको बताए । स्पेनको गृहयुद्धमा कतिपय अभिलेख नष्ट भए पनि जोगाइएका नमुनाका करिब १६ हजार टुक्रालाई डिजिटल रूपमा अध्ययन गरेर निर्माणलाई निरन्तरता दिन सकिएको अनुभव उनले प्रस्तुत गरे । ठूला परियोजनाको सफलताका लागि डिजाइनसँगै योजना, व्यवस्थापन र विभिन्न विशेषज्ञबीचको समन्वय आवश्यक हुने पनि उनले स्पष्ट पारे ।

लोपेज भारतीय आर्किटेक्ट अमेय दलालसँग मिलेर गुजरातको कच्छस्थित ‘सोमैया कला विद्या आर्टिजन्स युनिभर्सिटी’ परियोजनामा पनि संलग्न छन् । उक्त परियोजनामा स्थानीय निर्माण सामग्री र परम्परागत सीपलाई आधुनिक वास्तुकलासँग जोड्ने प्रयास भइरहेको उनले जानकारी दिए । यस अनुभवले मौलिक शिल्पकला र नयाँ प्रविधिलाई एकअर्काको विकल्प नभई पूरकका रूपमा लिनुपर्ने सन्देश दिएको थियो ।

कार्यक्रमको अध्यक्षता गरेका नेपाली आर्किटेक्ट तथा सहरी योजनाविद् वीरेश शाहले निर्माण सामग्रीको उत्पादनमा भइरहेका परिवर्तनबारे आर्किटेक्ट र डिजाइनर जानकार रहनुपर्ने बताए । नेपालमा समेत उच्च गुणस्तरका सिरेमिक टायललगायत सामग्रीको उत्पादन विस्तार भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले प्रविधि, डिजाइन र उद्योगबीचको सहकार्यबाट नयाँ सम्भावना खुल्ने धारणा राखे । उनका अनुसार उत्पादन प्रक्रियाको ज्ञानले डिजाइनरलाई सामग्री छनोटमा मात्र होइन, नयाँ उत्पादनको विकासमा समेत सहभागी हुन सहयोग गर्छ ।

इटालीको सिस्टम सेरामिक्सका फ्रान्चेस्को पियानीले सिरेमिक उत्पादनमा डिजिटल प्रिन्टिङ, स्वचालन र ठूला आकारका स्ल्याब निर्माण प्रविधिबारे प्रस्तुति दिए । रोटोकोलर, लाम्जिया, सुपरफास्ट र क्रिएडिजिटजस्ता प्रविधिले सिरेमिक सामग्रीको आकार, डिजाइन र प्रयोगको दायरा विस्तार गरेको उनले बताए । पहिले भुइँ र भित्तामा सीमित यस्ता सामग्री अहिले भवनको बाहिरी आवरण, किचन काउन्टरटप, फर्निचर तथा विभिन्न आन्तरिक संरचनामा समेत प्रयोग हुन थालेका छन् । आधुनिक प्रविधिले परियोजनाको आवश्यकताअनुसार फरक रङ, बनावट र आकारका सामग्री तयार गर्न सहज बनाएको उनको भनाइ थियो ।

उनका अनुसार ठूला सिरेमिक स्ल्याबले फराकिलो सतहमा जोडाइका रेखा कम देखिने बनाउँछन् । डिजिटल प्रिन्टिङले मार्बल र प्राकृतिक ढुंगाको रङ तथा धर्सालाई सूक्ष्म रूपमा प्रस्तुत गर्न सम्भव बनाएको छ । आगामी दिनमा उत्पादन प्रणाली थप स्वचालित र लचिलो हुने तथा आवश्यकताअनुसार सामग्री तयार गर्ने सम्भावना बढ्ने पियानीले उल्लेख गरे ।

त्यस्तै, इटालीको कलरोबिया ग्रुपका एलेसियो लोन्डीले सिरेमिक सामग्रीको रङ, सतह र बनावटमा विकसित प्रविधिबारे जानकारी दिए । उनले विशेष ग्लेज, ग्रिट्स तथा डिजिटल सजावट सामग्री प्रयोग गरेर प्राकृतिक ढुंगाजस्तै देखिने सतह, त्रिआयामिक बनावट र प्रकाशअनुसार फरक प्रभाव दिने डिजाइन तयार गर्न सकिने बताए । नयाँ उत्पादनको विकासका लागि मेसिन निर्माता, सामग्री उत्पादक, आर्किटेक्ट र डिजाइनरबीच निरन्तर अनुसन्धान तथा सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।

लोन्डीले आधुनिक सिरेमिक डिजाइनमा म्याट फिनिस, टेराकोटा, टेराजो र प्राकृतिक सामग्रीबाट प्रेरित सतहप्रति चासो बढेको बताए । उत्पादनको गुणस्तर र विश्वसनीयता कायम राख्न निरन्तर परीक्षण, अनुसन्धान र प्राविधिक सुधार आवश्यक पर्ने उनले औँल्याए । नयाँ डिजाइन विकास गर्ने काम कुनै एक कम्पनीको प्रयासबाट मात्र नभई उत्पादक, प्रविधि आपूर्तिकर्ता र डिजाइनरहरूको सहकार्यबाट अघि बढ्ने उनको भनाइ थियो ।

आयोजक लामिनारका अनुसार कम्पनीले टायल उत्पादनमा सिस्टम सेरामिक्सको क्रिएडिजिट डिजिटल प्रिन्टर तथा कलरोबिया ग्रुपका ग्लेज, ग्रिट्स र डिजिटल सजावट सामग्री प्रयोग गर्दै आएको छ । यसले अन्तर्राष्ट्रिय स्तरका उत्पादन प्रविधि नेपाली उद्योगमा पनि प्रयोग भइरहेको सन्दर्भलाई सम्मेलनसँग जोडेको थियो ।

मुख्य प्रस्तुतिपछि लोपेज, भारतीय आर्किटेक्ट अमेय दलाल र अध्यक्ष शाहबीच अन्तरक्रिया भएको थियो । छलफलमा ऐतिहासिक वास्तुकलाको संरक्षण, स्थानीय शिल्पकलाको उपयोग र नयाँ निर्माण सामग्रीको उपयुक्त छनोटबारे विचार आदानप्रदान गरियो । आयोजकका अनुसार सम्मेलनको उद्देश्य नेपाली आर्किटेक्ट तथा डिजाइनरलाई अन्तर्राष्ट्रिय अनुभवसँग परिचित गराउँदै नेपालकै आवश्यकता र पहिचानअनुसार नयाँ प्रविधिको प्रयोग गर्ने अवसरबारे संवाद बढाउनु हो । कार्यक्रममा तीन सयभन्दा बढी आर्किटेक्चर एवं निर्माण क्षेत्रका विज्ञहरूको सहभागिता थियो।