Dhulikhel Eco Banner new

नेपाल–श्रीलंका उद्योग वाणिज्य संघको २०औँ साधारणसभा सम्पन्न, व्यापार, लगानी र पर्यटन प्रवर्द्धनमा जोड

949
shares

काठमाडौं, ८ मंसिर ।  नेपाल र श्रीलंकाबीच परम्परागत सम्बन्धलाई आर्थिक तथा व्यावसायिक सहकार्यमा रूपान्तरण गर्दै व्यापार, लगानी र पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल–श्रीलंका उद्योग वाणिज्य संघको २०औँ वार्षिक साधारणसभामा सहभागी वक्ताहरूले दुई देशबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक सहकार्य र पर्यटन विकासको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका हुन् ।

मंगलबार काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा सम्पन्न साधारणसभामा नेपालका लागि श्रीलंकाली राजदूत महामहिम रुवन्थी डेल्पिटिया प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् ।

कार्यक्रममा नेपालका लागि श्रीलंकाली राजदूत महामहिम रुवन्थी डेल्पिटिया र डा. मञ्चला कुमारी झाले पर्यटन सम्पर्क, सांस्कृतिक कूटनीति, बौद्ध सम्पदाको प्रवर्द्धन तथा व्यापार र लगानी विस्तारलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताइन् । नेपाल र श्रीलंकाबीच व्यापार तथा लगानीका अवसर विस्तार, पर्यटन प्रवर्द्धन, एकअर्काका उत्पादनको बजार विस्तार तथा निजी क्षेत्रबीच व्यावसायिक सहकार्य बढाउने विषयमा छलफल भएको थियो ।

विशेषगरी बौद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेको श्रीलंकासँग नेपालको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटन प्रवर्द्धनमा उपयोग गर्न सकिने विषयले कार्यक्रममा महत्व पाएको थियो । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी रहेको नेपाललाई श्रीलंकाली पर्यटकमाझ बौद्ध धर्मसँग सम्बन्धित प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे चर्चा भएको थियो ।

नेपालका लुम्बिनी, स्वयम्भू, बौद्धनाथलगायत बौद्ध सम्पदास्थलको अन्तर्राष्ट्रिय प्रचारप्रसार तथा प्रवर्द्धन गर्न सके श्रीलंकाबाट धार्मिक पर्यटकको आगमन बढाउन सकिने अपेक्षा गरिएको छ । यसले नेपालको पर्यटन क्षेत्र विस्तारसँगै दुई देशबीचको जनस्तरको सम्बन्धलाई समेत थप मजबुत बनाउन सक्ने देखिन्छ ।

त्यसैगरी नेपाली उत्पादनलाई श्रीलंकाली बजारमा र श्रीलंकाली उत्पादनलाई नेपाली बजारमा प्रवर्द्धन गर्ने विषय पनि छलफलमा उठेको थियो । व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, लगानीका सम्भावना पहिचान तथा दुवै देशका व्यवसायीबीच सहकार्य र व्यावसायिक सञ्जाल विस्तारमा जोड दिइएको थियो ।

संघका अध्यक्ष विजयबहादुर श्रेष्ठ र महासचिव नरेन्द्र बल्लभ पन्थलगायत पदाधिकारी तथा सदस्यहरूको सहभागितामा सम्पन्न साधारणसभाले नेपाल र श्रीलंकाबीचको परम्परागत सम्बन्धलाई व्यापार, लगानी तथा पर्यटनमार्फत थप सुदृढ बनाउने सम्भावनालाई उजागर गरेको छ ।

दुई देशबीचको धार्मिक तथा सांस्कृतिक निकटतालाई आर्थिक अवसरसँग जोड्न सके नेपालले बौद्ध पर्यटन प्रवर्द्धन र श्रीलंकासँगको व्यापारिक सम्बन्ध विस्तारमा थप लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।