Dhulikhel Eco Banner new

नाडेप लघुवित्तद्वारा पोखरामा भाखा नाघेको कर्जा व्यवस्थापन तालिम तथा समीक्षा गोष्ठी सम्पन्न

312
shares

काठमाडौं, ९ मंसिर । धादिङ जिल्लाको धुनिबेंसी नगरपालिका–६, धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा भाखा नाघेको कर्जा व्यवस्थापन तालिम तथा समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।

संस्थाको पोखरा इलाका कार्यालयअन्तर्गतका ११ वटै शाखा प्रबन्धकहरूको सहभागितामा मंसिर ८ गते कास्की जिल्लाको पोखरामा उक्त कार्यक्रम सम्पन्न भएको संस्थाका कम्पनी सचिव बाबुराम सुवेदीले जानकारी दिएका छन् ।

कार्यक्रममा पोखरा इलाकाअन्तर्गतका ११ वटै शाखाका शाखा प्रबन्धकहरूले २०८३ कात्तिक मसान्तसम्मको कार्यप्रगति प्रस्तुत गरेका थिए ।

संस्थाका वरिष्ठ प्रमुख व्यवस्थापक उमेश कुमारी, प्रमुख व्यवस्थापक बाबुराम सुवेदी, वरिष्ठ अधिकृत हरि बहादुर पण्डित तथा पोखरा इलाका प्रमुख बलराम पौडेलले प्रशिक्षणको भूमिका निर्वाह गरेका थिए ।

तालिममा सहभागीहरूले भाखा नाघेको कर्जा व्यवस्थापन तथा नियन्त्रण, शाखा प्रबन्धकहरूको भूमिका तथा जिम्मेवारी, प्रभावकारी ग्राहक सम्बन्ध, अन्तरवैयक्तिक सम्बन्ध, कर्जा विश्लेषण र असल परियोजना छनोट गर्दा ध्यान दिनुपर्ने विषयलगायतका बारेमा जानकारी हासिल गरेका थिए । कार्यक्रममा देखिएका समस्या तथा चुनौती र निष्क्रिय कर्जालगायतका विषयमा समेत छलफल गरिएको थियो ।

संस्थाले ५६ जिल्लामा शाखा कार्यालय स्थापना गरी विगत २०७२ सालदेखि लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

तालिममा सहभागीहरूलाई संस्थाको सामान्य सेवा तथा कार्य सञ्चालन विभाग प्रमुख हरि बहादुर पण्डितले स्वागत गरेका थिए भने कार्यक्रमको उद्देश्यबारे संस्थाका जनशक्ति व्यवस्थापन विभाग प्रमुख तथा कम्पनी सचिव बाबुराम सुवेदीले जानकारी गराएका थिए ।

संस्थाका अनुसार २०८३ कात्तिक मसान्तसम्म करिब ७६ हजार २७९ घरपरिवारमा सेवा विस्तार गरिएको छ । सोही अवधिसम्म संस्थाको लगानीमा रहेको कर्जा ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ भने ग्राहक सदस्यहरूको २ अर्ब ४४ करोड रुपैयाँ बचत परिचालन गरिएको छ ।

गोष्ठी तथा तालिमको समापन अवसरमा सहभागीहरूको तर्फबाट देउचुली शाखाका शाखा प्रमुख रवि बहादुर पण्डित र माडी शाखाका शाखा प्रमुख रामकृष्ण खतिवडाले तालिमको मूल्यांकन गरेका थिए ।

तालिमको समापन संस्थाका वरिष्ठ प्रमुख व्यवस्थापक उमेश कुमारीले गरेका थिए भने कार्यक्रम सञ्चालन पोखरा इलाका प्रमुख बलराम पौडेलले गरेका थिए ।