नबिल ग्रोथ फण्डको १० करोड इकाई निष्काशन आजदेखि खुला
वि.सं.२०८३ मंसिर ९ बुधवार १०:२०
shares

काठमाडौं, ९ मंसिर । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने नबिल ग्रोथ फण्डको इकाई आज (मंसिर ९ गते) देखि निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई निष्काशन गर्न लागेको हो । कुल निष्काशित इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका लागि छुट्याइएको छ । यसमध्ये १ करोड ४० लाख इकाई नबिल बैंकका लागि र १० लाख इकाई योजना व्यवस्थापकका लागि सुरक्षित गरिएको छ ।
बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस योजनाको इकाई खरिदका लागि छिटोमा मंसिर १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पर्याप्त आवेदन नपरे निष्काशन अवधि मंसिर २३ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।
नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो बन्दमुखी योजना हो । यसको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ भने अवधि १० वर्षको हुनेछ । निष्काशन सफल हुन कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई बिक्री हुनुपर्ने व्यवस्था छ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिनेछ ।
यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो शेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।
केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई ‘केयर एनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ्ग प्रदान गरेको छ । यसले कोषको उचित व्यवस्थापनका लागि पर्याप्त आधार रहेको जनाउँछ । त्यस्तै, कोष प्रवर्द्धकलाई ‘केयर एनपी सिंगल ए प्लस’ रेटिङ्ग प्रदान गरिएको छ । यस रेटिङ्गले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न पर्याप्त रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।
















