विशिष्टीकृत जलन उपचार सेवा विस्तारका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन
वि.सं.२०८३ मंसिर ९ बुधवार १०:५४
shares

काठमाडौं, ९ मंसिर । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन गरेका छन्। नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना सेवाको पहुँच विस्तार र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त वार्ड स्थापना गरिएको हो।
नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. राम कण्ठ माकजुले मंगलबार संयुक्त रूपमा वार्डको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा दुवै संस्थाका वरिष्ठ अधिकारी, स्वास्थ्यकर्मी, सरोकारवाला तथा समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत स्थापना गरिएको उक्त वार्डले जलनका बिरामीलाई विशेषज्ञतायुक्त, गुणस्तरीय तथा बिरामी केन्द्रित उपचार सेवा प्रदान गर्न अस्पतालको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
यसअघि नबिल केयरले सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा निःशुल्क जलन शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको थियो। नयाँ वार्डको स्थापनासँगै बैंकले जलन प्रभावितलाई उपचार सेवा उपलब्ध गराउने आफ्नो अभियानलाई थप विस्तार गरेको छ। ती शिविरमार्फत देशका विभिन्न क्षेत्रका करिब पाँच सय जलन प्रभावितले उपचार पाउने अवसर प्राप्त गरेका छन्।
नेपालमा जलनका घटना अझै पनि महत्वपूर्ण जनस्वास्थ्य चुनौतीका रूपमा रहेका छन्। जलनबाट प्रभावित व्यक्तिलाई तत्काल उपचारसँगै विशेषज्ञ चिकित्सा सेवा, शल्यक्रिया, दीर्घकालीन पुनर्स्थापना र मनोसामाजिक सहयोग आवश्यक पर्ने भएकाले नयाँ वार्डले यस्ता सेवामा बिरामीको पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा बोल्दै नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष चौधरीले समाजका महत्वपूर्ण आवश्यकता सम्बोधन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले अर्थपूर्ण संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रतिको दायित्व निर्वाह गर्न बैंक प्रतिबद्ध रहेको उल्लेख गरे।
उनले बैंकको सफलता आर्थिक उपलब्धिमा मात्र सीमित नरहने भन्दै समाजमा सिर्जना गरेको सकारात्मक प्रभावबाट पनि मूल्यांकन हुनुपर्ने धारणा राखे। जलनका बिरामी र तिनका परिवारले सीमित स्वास्थ्य पूर्वाधारका कारण गुणस्तरीय उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न यस्ता सहकार्य महत्वपूर्ण हुने उनको भनाइ थियो।
त्यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले जलनसम्बन्धी विशिष्टीकृत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न सहकार्य आवश्यक रहेको बताए।
धुलिखेल अस्पतालसँगको सहकार्यले जलन उपचार सेवालाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले नबिल केयरअन्तर्गत सञ्चालन भइरहेका प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा नयाँ वार्डलाई लिएको बताए। उक्त सुविधा जलन प्रभावित बिरामी तथा उनीहरूका परिवारका लागि उपचार, आशा र सम्मानको केन्द्र बन्ने विश्वास उनले व्यक्त गरे।
धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. राम कण्ठ माकाजु श्रेष्ठले नबिल बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यस सहकार्यले नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
उनले सामुदायिक अस्पतालका रूपमा धुलिखेल अस्पतालले ग्रामीण समुदायसम्म स्वास्थ्य सेवा पुर्याउँदै आएको उल्लेख गर्दै नबिल बैंकसँगको सहकार्यमा नेपालमै उदाहरणीय विशिष्टीकृत जलन उपचार सुविधा विकास गर्ने लक्ष्य रहेको बताए।
‘सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा’ भन्ने मूल मान्यताबाट निर्देशित धुलिखेल अस्पतालले लामो समयदेखि सर्वसुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
नबिल बर्न केयर वार्डको स्थापनालाई नेपालमा जलन उपचार सेवाको पहुँच र गुणस्तर अभिवृद्धितर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ। यसले देशभरका जलन प्रभावितलाई विशेषज्ञ उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नबिल बैंक लिमिटेड नेपालका अग्रणी वाणिज्य बैंकमध्ये एक हो। नवीन वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले ‘नबिल केयर’ लगायतका संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत देशभरका समुदायको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउँदै आएको छ।

















