Dhulikhel Eco Banner new

किन नेपाली सफ्टवेयरमा रुची राख्दैनन् बैंकहरु ?

15.51K
shares

काठमाडौं, ३१ असार । प्रविधिको क्षेत्रमा नेपाल अगाडि बढ्ने क्रममा छ । नेपाली प्राविधिकहरु विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने सफ्टवेयरहरु विकास गर्न सक्ने दावी गर्छन। नेपाली बैंकले प्रयोग गर्ने सफ्टवेयरहरु पनि विदेशी सफ्टवेयर भन्दा कम नरहेको विज्ञहरु बताउछन्। नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक जस्ता केही बैंकहरु अहिले पनि ढुक्कसँग नेपाली सफ्टवेयर नै चलाइरहेका छन् ।

नेपाली सफुटवेयर प्रयोग गर्दा विदेशिने करोडौं रकम जोगिएको छ । तर नेपालका बहुसंख्यक बैंकहरु भने विदेशी सफ्टवेयर नै प्रयोग गरिरहेका छन् । नेपाल राष्ट्र बैंकको सूचना प्रविधि विभागका निर्देशक शिवराम दवाडी नेपाली प्राविधिकहरुको भविष्य उज्वल रहेको बताउछन् ।

नेपाली कम्पनीहरुले राम्रो सफ्टवेयर बनाउन सक्ने भए पनि अहिले अवस्थामा भने धेरै विकास हुन बाँकी रहेको उनको भनाइ छ । अहिले नेपाली कम्पनीहरुले भन्दा विदेशी कम्पनीहरुले सर्भिस धेरै दिएकाले बैंकहरु विदेशी सफ्टवेयर प्रयोग गर्ने गरेको उनले बताए ।

तर यस क्षेत्रका जानकारहरु भने विदेशी कम्पनीहरु भन्दा नेपाली कम्पनीहरु कम सेवा नदिने बताउछन् । नेपाली बैंकहरु नेपाली कम्पनीलाई विस्वास गर्ने र विदेशी कम्पनीलाई गर्ने जति खर्च गर्ने हो भने नेपाली सफ्टवेयर ए वान रहेको उनीहरुको भनाइ छ ।

बैंकले प्रयोग गर्ने सफ्टवयरले सेवा प्रवाहमा सहजता ल्याएको छ । चेकबाट भुक्तानी हुने अवस्थादेखि अहिले आएर मोबालइबाट सिधै पैसा तिर्न सक्ने प्रविधिको विकास भइसकेको छ । त्यस्ता सफ्टवयरहरु नेपालमा पनि प्रयाप्त मात्रामा विकास भए पनि नेपाली बैंकले भने यसको प्रयोगमा रुची भने देखाउन सकेका छैनन् । अधिकांश बैंकहरुले विदेशी सफ्टवयर नै प्रयोग गरिरहेका छन् ।

यसबाट नेपाली बैंकमा प्रयोग हुने सफ्टवयर विदेशबाट ल्याउनु धेरै रकम विदेशिएको छ । सरकारले विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको बताइरहेको अवस्थामा यस्ता सफ्टवयर पनि नेपाली उत्पादन नै प्रयोग गर्न सकेको खण्डमा विदेशीने पैसा जोगिने नेपाली उत्पादनको प्रयोग पनि हुने कम्प्युटर एसोसिएसन महासंघका सचिव चिरञ्जीवी अधिकारीको भनाइ छ ।

‘नेपाली सफ्टवयरको प्रयोगले गर्दा विदेशिने डलर नेपालमा रोकिनुका साथै नेपाली उत्पादनको प्रवद्र्धन पनि हुन्छ, यस तर्फ सरकारले ध्यान दिन जरुरी छ,’ अधिकारीले भने ।

बैंकहरुले पछिल्लो समय प्रयोगमा आएको मोबाइल मनी, इन्टरनेट बैंकिङ, एटिएम, इलेक्ट्रोनिक कार्ड पेमेन्ट जस्ता कुराहरुमा प्रविधिको अधिक प्रयोग गरेका छन् । तर त्यसका लागि आवश्यक पर्ने सफ्टवयर भने सबै विदेशबाट आयात गरिरहेका छन् ।

नेपाल सरकारले पनि सूचना प्रविधिको विकास गरेर विदेश निर्यात गर्ने लक्ष्य लिएको छ । सरकारले यस विषयमा बारम्बार कुरा पनि गर्दै आएको छ । तर विडम्बना निर्यात गर्ने त परैको कुरा स्वदेशमै प्रयोग गर्ने तर्फ पनि कुनै काम भएको छैन् ।

यदि नेपालमा भएका बैंकहरुमा नेपालमै निर्माण भएका सफ्टवयरहरुको प्रयोग अनिवार्य गर्न सकेको खण्डमा मात्रै पनि विदेश जाने करोडौँ रकम नेपालमा बच्ने सम्भावना रहन्छ । तर सरकारले नेपालमा निर्माण भएका सफ्टवयरको प्रवद्र्धनमा कुनै चासो दिन नसकेको महासंघका सचिव अधिकारीको भनाइ छ ।

नेपालमा अहिले २६ वटा वाणिज्य बैंकहरु रहेका छन् । २६ वटामध्ये अधिकांशले प्रयोग गर्ने सफ्टवयर भने विदेशी रहेका छन् । नेपाली सफ्टवयर गुणस्तरीय नभएका पनि होइनन् तर बैंकहरुको रुची नेपाली उत्पादनमा खासै परेको पाइदैन । नेपालमा बैंकिङ सफ्टवयर लन्च भएको २० वर्षभन्दा बढी समय भइसकेको छ । त्यो सफ्टवयरले विदेशी सफ्टवयरसँग प्रतिस्पर्धा गर्न पनि सक्छ । तर बैंकले भने विश्वास गर्न सकेका छैनन् ।

नेपालमा पहिलोपटक इन्टरनेट भित्र्याउने कम्पनी हो मर्कन्टायलले । यो कम्पनीले ‘पुमरी’ नामक बैंकिङ सफ्टवयर समेत नेपालमा लन्च गरेको थियो । यो सफ्टवयर नेपालका थोरै वाणिज्य बैंक, केही विकास बैंक र केही फाइनान्सले मात्रै प्रयोग गरेको पाइन्छ ।

वाणिज्य बैंकहरुमा जम्मा ४ वटाले मात्रै नेपाली सफ्टवयर प्रयोग गरिरहेका छन् । जसमा सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सेञ्चुरी बैंक, र एनसीसी बैंकले मात्रै नेपाली सफ्टवयर प्रयोग गरेको महासंघका सचिव अधिकारीले बताए । नेपाली सफ्टवयर प्रयोग गरेका बैंकहरुले पनि विदेशी सफ्टवयर प्रयोग गर्नु दुखत भएको अधिकारीको भनाइ छ ।