बसन्तपुरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, सार्वजनिक कला स्थापनामार्फत मौन पीडा उजागर
वि.सं.२०८३ मंसिर ९ बुधवार १५:५८
shares

काठमाडौं, ९ मंसिर । जोन्टा क्लब काठमाडौंले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको छ । बुधबार काठमाडौंको बसन्तपुरमा सार्वजनिक कला स्थापनाको अनावरण गर्दै अभियान सुरु गरिएको हो ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जोन्टा क्लब काठमाडौंका सदस्य, कलाकार, युवा नेतृत्व तथा सर्वसाधारणको उपस्थिति थियो ।
तीन युवा नेपाली महिला कलाकार अमिषा महर्जन, निर्विता शाक्य र अमिषा के.सी.ले वरिष्ठ कलाकार कपिलमणि दीक्षितको मार्गदर्शनमा तयार पारेको कला स्थापनाले महिला तथा किशोरीहरूले समाजमा खुलेर व्यक्त गर्न नसकेका र चुपचाप सहन बाध्य भएका भावनात्मक तथा सामाजिक पीडालाई उजागर गरेको छ ।
‘उनका धेरै झोला छन्, सबैले देख्छन् । तर सबैभन्दा गह्रौँ झोला कसैले देख्दैन, जुन उनी एक्लै बोकेर हिँडिरहेकी हुन्छिन्’ भन्ने अवधारणामा आधारित कलाले महिला तथा किशोरीहरूले भोग्ने डर, दमन, दोषारोपण र चार भित्ताभित्र सीमित पीडाका कथालाई प्रस्तुत गरेको छ ।
यसले हिंसाका विषयमा मौनता तोड्न, आफ्ना अनुभव खुलेर व्यक्त गर्न र महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्यका लागि सामूहिक रूपमा अघि बढ्न समाजलाई प्रेरित गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले महिला हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्न र यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताइन् । उनले काठमाडौं महानगरपालिकाले जोन्टा क्लबसँगको सहकार्यलाई निरन्तरता दिँदै महिला हिंसाविरुद्ध जनचेतना जगाउने योजना बनाएको जानकारी दिइन् ।
‘म पनि महिला भएकोले हाम्रा दिदीबहिनी, आमाहरूले समाजमा भोगिरहेको हिंसा, अपहेलना र लैङ्गिक विभेदबारे अवगत छु । यस्तो अभियानमा हातेमालो गरेर महिला हिंसा र विभेदको अन्त्य गर्नु हामी सबैको जिम्मेवारी हो,’ उनले भनिन् ।
जोन्टा क्लब काठमाडौंकी अध्यक्ष मृदुला राजभण्डारीले लैङ्गिक हिंसा अन्त्यका लागि जनचेतनासँगै समाजका सबै तहबाट सामूहिक र निरन्तर प्रयास आवश्यक रहेको बताइन् ।
‘यस वर्षको ‘जोन्टा सेज नो’ अभियानमार्फत युवा, विद्यार्थी, स्थानीय तह र निजी क्षेत्रलाई जोड्दै संवादलाई व्यवहारिक परिवर्तनमा रूपान्तरण गर्ने हाम्रो लक्ष्य छ,’ उनले भनिन्, ‘युवाको नेतृत्व र समुदायसँगको प्रत्यक्ष संवादमार्फत हरेक महिला तथा किशोरीले सम्मान र मर्यादाका साथ बाँच्न पाउने समाज निर्माणमा हामी प्रतिबद्ध छौँ ।’
त्यस्तै, जोन्टा क्लब काठमाडौंको महिला हिंसाविरुद्धको समितिकी अध्यक्ष दीप्ती आचार्यले कला स्थापनाले समाजमा ओझेलमा परेका अनुभव र पीडालाई सार्वजनिक संवादमा ल्याउन सहयोग गर्ने बताइन् ।
‘कला आफ्ना पीडा र अनुभव अभिव्यक्त गर्ने सशक्त माध्यम हो । अमिषा महर्जन, निर्विता शाक्य र अमिषा के.सी.का सिर्जनाले लैङ्गिक हिंसाको अदृश्य पीडालाई सार्वजनिक संवादमा ल्याउँदै यो कुनै एक महिलाले मात्र बोक्नुपर्ने बोझ होइन भन्ने सन्देश दिएका छन्,’ उनले भनिन् ।
उनका अनुसार युवा सिर्जनाकर्मी, स्थानीय सरकार र नागरिकको सामूहिक प्रयासले मौनता तोड्दै जवाफदेहिताको संस्कार विकास गर्न सकिन्छ ।
बसन्तपुरमा स्थापना गरिएको सार्वजनिक कला अभियान अवधिभर सर्वसाधारणका लागि खुला रहनेछ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यो अभियान विश्वव्यापी ‘जोन्टा सेज नो’ (Zonta Says NO) पहलअन्तर्गत आयोजना गरिएको हो ।
कला स्थापनाको अनावरणसँगै क्लबले अभियान अवधिभर विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । ती कार्यक्रमअन्तर्गत युवाको फ्ल्यास मोब, महिनावारी स्वास्थ्य तथा बालविवाहसम्बन्धी सामुदायिक संवाद र निजी क्षेत्रका श्रमिकहरूका लागि कार्यशाला आयोजना गरिनेछ ।
यसका साथै काठमाडौं र दाङमा सामुदायिक दौड पनि सञ्चालन हुनेछ । अभियानका यी गतिविधि डिसेम्बर १० मा आयोजना हुने समापन सम्मेलनसँगै सम्पन्न हुनेछन् ।
जोन्टा क्लब काठमाडौंका बारेमा
जोन्टा क्लब काठमाडौं महिला तथा किशोरीको अवस्था सुधार र अधिकार प्रवर्द्धनका लागि सेवा तथा पैरवीमार्फत काम गर्ने विश्वव्यापी संस्था जोन्टा इन्टरनेसनलको एक सदस्य क्लब हो । क्लबले लैङ्गिक हिंसा न्यूनीकरण, लैङ्गिक समानता प्रवर्द्धन तथा महिला र किशोरीको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
‘जोन्टा सेज नो’ लगायतका पहलमार्फत जनचेतना अभिवृद्धि, हिंसापीडितलाई सहयोग तथा नीतिगत सुधारका लागि पैरवी गर्नु क्लबका प्रमुख कार्यक्षेत्र हुन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ (महिला हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस) देखि डिसेम्बर १० (अन्तर्राष्ट्रिय मानव अधिकार दिवस) सम्म सञ्चालन हुने विश्वव्यापी अभियान हो । यस अभियानले लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने, नीतिगत परिवर्तनका लागि पहल गर्ने र हिंसा अन्त्य गर्न समुदायलाई एकजुट भई सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्य राख्छ ।

















