नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब रुपैयाँ पुग्यो, जीडीपीको ४५.०८ प्रतिशत
वि.सं.२०८३ मंसिर ९ बुधवार १६:०१
shares

काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनाको अवधिमा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ। यो रकम कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ रहेको थियो। कात्तिक मसान्तसम्म विनिमय दरमा भएको लाभसमेतका कारण कुल ऋण दायित्व घटेर २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ कायम भएको प्रतिवेदनमा उल्लेख छ।
कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ। कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण दायित्व १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण दायित्व १४ खर्ब ४७ करोड ५९ लाख रुपैयाँ रहेको छ।
सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। यसमध्ये कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ ऋण प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो।
सरकारले आन्तरिक ऋणतर्फ ४ खर्ब १० अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब ४८ अर्ब २८ करोड ७ लाख रुपैयाँ परिचालन गर्ने लक्ष्य राखेको छ। कात्तिक मसान्तसम्म आन्तरिक ऋणतर्फ १ खर्ब २५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २८ अर्ब ८४ करोड रुपैयाँ प्राप्त भएको छ। वार्षिक लक्ष्यका आधारमा आन्तरिक ऋण परिचालनको प्रगति ३०.४९ प्रतिशत र वैदेशिक ऋण परिचालनको प्रगति ११.६२ प्रतिशत रहेको छ।
कात्तिक मसान्तसम्म प्राप्त कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.२५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८.७५ प्रतिशत रहेको छ। वार्षिक ऋण परिचालन लक्ष्यअनुसार अझै ५ खर्ब ४ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ प्राप्त हुन बाँकी छ। यसमध्ये आन्तरिक ऋणतर्फ २ खर्ब ८५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब १९ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ परिचालन गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
यसैबीच, सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। कात्तिक मसान्तसम्म १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ ऋण सेवा भुक्तानीमा खर्च भएको छ। यो वार्षिक विनियोजनको ३३.७३ प्रतिशत हो।
चार महिनामा भएको ऋण सेवा खर्च कुल गार्हस्थ्य उत्पादनको २.१४ प्रतिशत बराबर रहेको प्रतिवेदनमा उल्लेख छ। उक्त अवधिमा आन्तरिक ऋण भुक्तानीमा १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख रुपैयाँ र वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ।
आन्तरिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि सरकारले वार्षिक ३ खर्ब २८ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको छ। कात्तिक मसान्तसम्म यस शीर्षकमा ३६.३२ प्रतिशत खर्च भएको छ। यसमध्ये आन्तरिक ऋणको साँवा भुक्तानीमा ९९ अर्ब ९४ करोड रुपैयाँ र ब्याज भुक्तानीमा १९ अर्ब २४ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ। आन्तरिक ऋणको साँवा भुक्तानीमा वार्षिक विनियोजनको ४०.६४ प्रतिशत र ब्याज भुक्तानीमा २३.४० प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, वैदेशिक ऋण भुक्तानीका लागि सरकारले ८९ अर्ब ७४ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ। कात्तिक मसान्तसम्म यसतर्फ २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको २४.२३ प्रतिशत हो।
वैदेशिक ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३८ करोड रुपैयाँ र ब्याज भुक्तानीमा ४ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। वार्षिक विनियोजनका आधारमा वैदेशिक ऋणको साँवा भुक्तानीमा २४.०७ प्रतिशत र ब्याज भुक्तानीमा २४.९० प्रतिशत खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

















