जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १५:४२
shares

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको पुनःस्थापना, जीविकोपार्जन र सामाजिक संरक्षणका लागि सरकारले स्वीकृत गरेको एकीकृत प्याकेज कार्यान्वयनलाई तीव्रता दिने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा अर्यालले प्याकेज कार्यान्वयनका लागि गठित समन्वय समितिको बैठक मंसिर ८ गते बसेको जानकारी दिए । उनका अनुसार बैठकमा जेनजी घाइते तथा सहिद परिवारका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
बैठकले कार्यान्वयन भइसकेका कार्यक्रमलाई निरन्तरता दिने र बाँकी रहेका कार्यक्रम सम्बन्धित मन्त्रालयहरूले आपसी समन्वयमा अघि बढाउने निर्णय गरेको उनले बताए ।
उनले भने, ‘जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको पुनःस्थापना, जीविकोपार्जन र सामाजिक संरक्षणका लागि सरकारले स्वीकृत गरेको एकीकृत प्याकेज कार्यान्वयनका विषयमा समन्वय समितिको बैठक बसेको छ । कतिपय विषय कार्यान्वयन भइसकेका छन्, तिनलाई निरन्तरता दिने र कार्यान्वयन हुन बाँकी रहेका कार्यक्रमलाई आगामी दिनमा सबै मन्त्रालयले आपसी समन्वयमा अघि बढाउने निर्णय भएको छ ।’
त्यस्तै, सरकारले ‘नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेश, २०८३’ को मस्यौदा तयार गरी अर्थ, गृह र कानुन मन्त्रालयमा राय तथा परामर्शका लागि पठाएको छ । अर्थ र गृह मन्त्रालयबाट राय प्राप्त भइसकेको र त्यसलाई समेटेर पुनः परिमार्जन गरी कानुन मन्त्रालयमा पठाउने तयारी भइरहेको अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघ, प्रदेश र स्थानीय तहका वार्षिक कार्यक्रम तथा बजेटबीच नीतिगत सामञ्जस्यता कायम गर्न पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्ने ढाँचा तयार गरेको छ । यसबाट तीनै तहका सरकारका कार्यक्रमबीच हुने दोहोरोपन र दोहोरिने लगानी न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंसिर ११ गते बिहान ९ बजेसम्म १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको उनले जानकारी दिए ।
यसैगरी प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास भएको जानकारी दिँदै अर्यालले आयोजनाको एक पक्षको करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँ बराबरको ठेक्का आह्वान भइसकेको बताए । आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उनको भनाइ थियो ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको दुवै देशका प्रधानमन्त्रीज्यूबाट संयुक्त रूपमा शिलान्यास भइसकेको छ । आयोजनाको एक पक्षको करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँ बराबरको ठेक्का आह्वान पनि भइसकेको छ । सन् २०३० डिसेम्बर ४ देखि यस आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।’
यसैगरी सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा २९ वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । निर्माण तथा परामर्श सेवासम्बन्धी २३ वटा निकायलाई आवश्यक राय–परामर्श प्रदान गरिएको र सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत भई कार्यान्वयनमा आएको उनले जानकारी दिए ।
सरकारको नयाँ विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा कात्तिक महिनासम्म १ हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन् । प्रणाली सञ्चालन तथा बोलपत्र प्रक्रियामा १७ वटा सार्वजनिक निकायलाई प्राविधिक सहायता उपलब्ध गराइएको पनि उनले बताए र
हेलो सरकारमा प्राप्त गुनासोबारे जानकारी दिँदै अर्यालले पछिल्लो अवधिमा ३ हजार ५१ वटा गुनासो प्राप्त भएको र तीमध्ये २ हजार ७५४ वटा फछ्र्योट गरिएको बताए । उनका अनुसार २ हजार ३४९ वटा गुनासो समाधान भएका छन् ।
















