तल्लो अरुणबाट २०३० डिसेम्बर ४ देखि बिजुली उत्पादन गर्ने लक्ष्य, ११ अर्बभन्दा बढीको ठेक्का आह्वान
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १५:३१
shares

काठमाडौं, ११ मंसिर । ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ । आयोजनाको निर्माण अघि बढाउन करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्कासमेत आह्वान भइसकेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हृमराज अर्यालले आयोजनाबारे जानकारी दिएका हुन् ।
उनका अनुसार तल्लो अरुण जलविद्युत आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ । प्रधानमन्त्री बालेन्द्र साहको यही मंसिर ६ र ७ गते भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री साह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका थिए ।
प्रवक्ता अर्यालले आयोजनाको एक प्याकेजअन्तर्गत करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान भइसकेको जानकारी दिए । निर्धारित समयमै विद्युत उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको निर्माण प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा सार्वजनिक खरिद अनुगमन कार्यालयका कामकारबाहीबारे पनि जानकारी दिइएको थियो । प्रवक्ता अर्यालका अनुसार विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएका २० वटा फर्म तथा कम्पनीलाई प्रचलित कानुनबमोजिम कालोसूचीमा राख्ने निर्णय गरिएको छ ।
त्यस्तै, निर्माण तथा परामर्श सेवासम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई रायपरामर्श उपलब्ध गराइएको छ । सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नेसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत भई कार्यान्वयनमा आइसकेको पनि उनले जानकारी दिए ।
यसैगरी, हेलो सरकारमा पछिल्लो १० दिनको अवधिमा ३ हजार ५१ वटा गुनासा प्राप्त भएका छन् । तीमध्ये २ हजार ७ सय ५४ वटा फछ्र्योट गरिएको र २ सय ३४ वटा गुनासा सम्बोधन गरिएको प्रवक्ता अर्यालले बताए ।

















